लकडाउन कि लकअप ?

- भानुभक्त आचार्य
२०७७ बैशाख १२, शुक्रबार १७:५९

यतिबेला संसारका ३ अर्ब भन्दा धेरै मानिहरु आफ्नै घरभित्र खुम्चिएर बसिरहेका छन् । देश लकडाउन भइरहँदा नागरिक लकअप हुने हो । घरभित्रै बस्दाको आर्थिक, सामाजिक, भौतिक, राजनीतिक नोक्सानीहरु धेरै छन् ।

जुन बयान गरिसाध्य छैन । तर, मानिसले बुझ्न नसकेको पक्ष चाहिं के हो भने आफूलाई नपरेसम्म सचेत हुने अवस्था छैन । बिनाकारण, बिनामतलव घरबाहिर निस्कनेको संख्यामा कमी छैन । यतिबेला हामी लकडाउन कि लकअप भन्ने बिषयमा बहस गरिरहेका छौं, जुन अनावश्यक हो ।

बिनाकाम घरबाहिर लखरलखर हिंडिरहेका नागरिक प्रशस्तै भेटिन्छन् हाम्रो समाजमा । नेपालमा लकडाउन तोड्नेलाई प्रहरीले त्यति धेरै भाटे कारबाही गर्नु परेको छैन । बिराटनगर, गौर, जनकपुरलगायत तराईका केही स्थानमा प्रहरीले भाटे कारबाही गरेको समाचार आएका थिए । उता भारतीय प्रहरीले दिनहुँ आफ्ना नागरिकलाई भाटे कारबाही गरेको समाचार तथा तस्बीर भाइरल भएका छन् । अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कने हो भने यो महामारीको संक्रमण बाट सजिलै बच्न सकिने बिज्ञहरुले बताइरहेका छन् ।

बिकसित मुलुकमा सरकारले लकडाउन नभन्दै नागरिकले अनावश्यक रुपमा घरबाहिर निस्कने काम बन्द गरेका थिए । नागरिक सचेत नभएका हाम्रो जस्तो मुलुकमा कोरोना भाइरस संक्रमणको खतरा धेरै छ । हामीकहाँ माक्स, ग्लोब जस्ता सुरक्षा सामग्री प्रहरीलाई देखाउनका लागि लगाएका छन् । हामीकहाँ कतिपय युवाले मोटरसाईकलमा हेलमेट पनि आफ्नो सुरक्षाका लागि नभएर केवल ट्राफिकलाई देखाउनका लागि लगाउने गरेका छन् । आफ्नो सुरक्षाका लागि आफैंले सतर्कता अपनाउने हो । अरुले होईन ।

लकडाउन घोषणा भएको एक महिना पूरा भयो । यो बीचमा समाजका धेरैखाले गतिबिधि अस्तब्यस्त भएका छन् । बालबालिकाको शिक्षा ठप्प भएको छ । स्कूल कलेज बन्द भएपछि शैक्षिक गतिबिधि ठप्प छ । औद्योगिक प्रतिष्ठान बन्द भएका छन् । उत्पादन नभएपछि मौज्दात रित्तिने अवस्थामा छ । कृषि उत्पादनलाई पनि ठूलो असर परेको छ । बारीमा मकै छर्ने समय बित्न लाग्यो तर, घरमा मकैको बीउ एक दाना पनि छैन । जुनसुकै अवस्थामा पनि किसानलाई समस्या परेकै छ ।

खेतमा चैते धान रोपेको छ तर, मलखादको अभावमा धान पहेलपुर भएको छ । बर्षायामका लागि लगाइने तरकारीको बीउ पनि उपलब्ध हुन सकेको छैन । हाईब्रिड जातका बीउहरु किन्नका लागि पनि पसल खुला छैन । यातायातका साधन नचलेपछि गउँघरबाट बजार आउन पनि सकिएको छैन । बन्दाबन्दीका कारण बजार क्षेत्र एक महिनादेखि सुनसान भएका छन् । एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने अवस्था छ । अझै भन्ने हो भने अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कनु पर्ने हुन्छ ।

यस्तो अवस्था लामो समयसम्म रहने हो भने हाम्रो मुलुकमा खाद्यान्न अभाव हुने निश्चित छ । अहिले सहरी क्षेत्रबाट गाउँ फर्केका युवालाई कृषिउत्पादनमा लगाउने वातावरण तयार गर्ने हो भने लकडाउनको भरपुर सदुपयोग हुने थियो । यसका लागि स्थानीय सरकारसँग स्पष्ट भिजन पनि हुनु जरुरी छ । हरेक पालिकाले युवालाई पाखोबारीमा पसिना बगाउने वातावरण तयार गर्न सकेको खण्डमा हामीले भारतीय खाद्यान्न आयात गर्नु पर्ने थिएन ।

लकडाउन छ भनेर दिनभर घरमै बस्ने जनशक्तिलाई स्थानीय सरकारले परम्परागत कृषि उत्पादनमा लगाउने नीति ल्याउनु प¥यो । दैनिक रुपमा पानी परिरहेको छ । बारी राम्रोसँग भिजेको छ । यतिबेला बारीमा मकै छर्ने सिजन पनि हो । रैथाने काँक्रा, घिरौंला, करेला, कुपिण्डो, चिचिण्डो, स्कुस, फर्सी आदि बारीमा रोपौं । कम्पोष्ट अथवा बस्तुको मल हालौं । अर्गानिक उत्पादन भनेर आगामी तीन महिनापछि बजार बिक्री गर्न सकिन्छ । हाम्रो रैथाने तरकारीको स्वाद जस्तो अहिलेको हाईब्रिड जातका तरकारीमा कहाँ पाइन्छ र ?

बढी उत्पादन लिने होडमा हाम्रो समाजमा हाईब्रिड जातका बीउ खोजी गर्दै जाने क्रममा हामीले हाम्रो रैथाने जातहरु लेप हुने अवस्थामा पु¥यायौं । कसैले त रैथाने जातका बीउ जोगाउने काम पनि सुरु गर्नु जरुरी छ । ब्यावसायिक उत्पादन गर्दा हाईब्रिड बीउ प्रयोग गर्न सकिन्छ तर, परम्परागत बीउ पनि त जोगाउने दायित्व तपाईं हाम्रै हो । त्यसैले लकडाउनमा रैथाने जातको बीउ संरक्षण हुने गरी काम गरौं । सहरी क्षेत्रको रोजगारबाट केही समयका लागि गाउँघरमा फर्केका युवाले रैथाने बीउबिजनको संरक्षण गर्नु जरुरी छ ।

हाम्रो गाउँघरमा पाईने तरकारीका रैथाने जात करिब करिब लोप भइसकेको छ । यसलाई जोगाउनका लागि पनि अहिले उपयुक्त समय छ । छरछिमेकमा बीउ खोजी गरौं र आफ्नो बारीमा रोपौं । यसले परम्परागत बीउको संरक्षण पनि हुने भो र उत्पादन पनि हुने भो । जसरी २०७२ को नाकाबन्दीमा नेपाली जनताले सरकारलाई साथ दिएका थिए त्यसैगरी अहिले पनि लकडाउनलाई घरमै लकअप भएर साथ दिने वातावरण सृजना गरौं ।

बिनाकाम लखरलखर हिंडडुल गरिरहनु भन्दा आफ्नो खेत र बारीमा समय दिउँ । खेतबारीमा पसिना बगाऔं । थोरै लगानी गरौं र स्वस्थ्य बनौं ।

लेखक पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*