तराई मधेस फास्ट ट्रयाकले बस्ती जोखिममा पारेको भन्दै ज्ञापन पत्र
मकवानपुर, १४ बैशाख । तराई मधेस फास्ट ट्रयाक निर्माणका क्रममा वस्ती नै जोखिममा परेको भन्दै प्रभावितहरुले आज मकवानपुरको बकैया गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
बकैया गाउँपालिका वडा नम्बर ५ का प्रभावित बुदुने, भडौरा, तिनतले तथा दहिदमारवासीहरुले सडक निर्माणका क्रममा जङ्गल फँडानी तथा बस्तीमाथि रहेको ठाडो भिरमा कटानी गर्दा बस्ती जोखिममा परेकोले तत्काल ती बस्तिहरुको बचाउमा पहल गर्न गाउँपालिकामा ज्ञापनपत्र बुझाइएको हो ।
सडक अन्तर्गत पर्ने ठाडो भिरमुनि ५ सयको हाराहारीमा स्थानीयको बस्ती भएको र बस्ति जोखिममा परेको भन्दै स्थानीयले यस अघि पनि पहल समिती समेत गठन गरेर सेनाको बुदुने क्याम्पमा समेत ज्ञापनपत्र बुझाएका थिए।
पहल समितिका अध्यक्ष समेत रहेका पिडित केदारनाथ अर्यालले सेनाले जनताको माग सुनुवाइ नगरेको भन्दै गाउँपालिका समक्ष ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले संबन्धित सेना बन तथा सरोकारवाला निकायसँग छलफल गरेर समस्या समाधानको लागि पहल गर्ने बताएका छन् ।
