पुननिर्माण प्राधिकरणप्रति आक्रोशित बन्दै मुख्यमन्त्री पौडेलले भने– ‘५० हजारले डिबिसी गर्न पनि पुग्दैन’ कसरी लिने भुकम्प पीडिततले किस्ता ?’

तु खबर संवाददाता
२०७५ बैशाख १४, शुक्रबार १७:२३

–चन्द्र घलान
हेटौँडा, १४ बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले राष्ट्रिय पुननिर्माण प्राधिकरणप्रति आक्रोश पोखेका छन् । आज प्राधिकरणले गरेको प्रदेश स्तरीय भुकम्प पुननिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले भुकम्पबाट ध्वस्त भएको संरचना निर्माणमा ढिलाई भएको भन्दै पुननिर्माण प्राधिकरणको काम सुस्त भएको प्रति प्रश्न गरेका हुन् ।

कानुनको कारणले प्राधिकरणलाई काम गर्न असहज भएको भए कानुनमा परिमार्जन गर्नुपर्ने बताउँदै प्राधिकरणले पुननिर्माणको लागि बनाएको नीति नै अब्यवहारिक भएको आरोप लगाए । प्राधिकरणले पूननिर्माणको काम गर्न नसक्ने भए त्यसको जिम्मा समेत प्रदेश सरकालाई दिन माग गर्दै उनले भुकम्प पिडीतलाई दिइने पहिलो ५० हजार किस्ताले डिबिसी गर्न पनि नपुग्ने बताए । ‘५० हजारले डिबिसी गर्न नपुगेपछि पहिलो दोस्रो किस्ता कसरी लिन सकिन्छ ? ’ उनले प्रश्न गरे । उनले प्रकृयागत ढिलाई भएको बताउँदै लालपुर्जा आफ्नो नाममा नभएको र वर्षौँदेखि केही जनताहरु ऐलानी जग्गामा बसोबास गर्दै आएका कारण पनि प्राधिकरणको प्रकृया पुरा गर्न नसकेर भुकम्प पिडीतहरु झन पिडीत भएको बताए ।

उनले प्राधिकरणले पटक–पटक तथ्याङ्क संकलन गर्ने क्रममा हरेक पटक फरक डाटा देखिएको भन्दै एकैपटक सही तथ्यांक संकलन गर्न समेत असफल भएको बताए । यी सबै समस्याको समाधानको निमित्त उपयुक्त नीति निर्माण गर्न पनि उनले सुझाव दिए । अहिलेको अवस्थामा जनप्रतिनिधि समेत भएकोले प्राधिकरणले काम पुरा गर्न सक्दैन भने त्यसको जिम्मा प्रदेश सरकारलाई दिन समेत आग्रह गरे । जनप्रतिनिधिले वास्तविक भुकम्प पिडीतको पहिचान समेत गर्न सक्ने उनले दाबी गरे ।

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश नंबर ३ का मन्त्रीहरु शालिकराम जम्कट्टेल, कैलाश ढुंगेल, युवराज दुलाल, केशव स्थापित, प्रदेश सांसदहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*