फरार अभियुक्तलाई हेटौँडामा ल्याइयो, अनुसन्धान सुरु
हेटौँडा, १२ बैशाख । वि.सं. २०७३ साल चैतमा फरार भएका एक युवकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक अनुसन्धानका लागि पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्साको साविक भौराटार गाविस वडा नम्बर ३ बस्ने लक्ष्मण राउत कुर्मीका ३६ वर्षीय छोरा प्रभु राउत कुर्मीलाई मंगलबार नियन्त्रणमा लिई हेटौँडामा पठाएको हो ।
वि.सं. २०७३ चैत ३ गते चितवनबाट हेटौँडातर्फ जाँदै गरेको डब्लु बि ११–८५२४ नम्बरको भारतीय ट्रकलाई मनहरी गाउँपालिका ७ मनहरी चेकपोष्टमा जाँच गर्ने क्रममा सो ट्रकको पछाडी पट्टि फलस बटम बनाई सो भित्र लागु औषध गाँजा १६ बोरा (३०७ के.जी) लुकाईछिपाई राखेको अवस्थामा फेला परेपछि सो घटनामा कुर्मीको पनि सहभागिता भएको पत्ता लागेको थियो ।
तात्कालिन समयमा सो ट्रकका चालक भारत मोतिहारी जिल्ला पुर्बी चम्पारण गाईघाट बजार–७ बस्ने २८ वर्षीय अशोक कुमार दुबेलाई पक्राउ गरि बयान लिने क्रममा गाँजा काण्डमा ४ जनाको संलग्नता रहेको बयान दिएका थिए । जसमध्ये कुर्मी पनि एक थिए । उनी माथि आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।
