पत्रकारको निर्वाचनमा मकवानपुरका जनप्रतिनिधिहरुले पनि मतदान गर्दै
मकवानपुर १२ बैसाख । नेपाल पत्रकार महासंघ ३ नम्वर प्रदेशको आसन्न बैसाख २२ गते हुने निर्वाचनमा मकवानपुरका ३ जना जनप्रतिनिधिहरुले पनि मतदान गर्दै छन् । मकवानपुरका विभिन्न संचार माध्यममा आवद्ध रहेर पत्रकारीता गर्दै आएका उनीहरु स्थानिय तहको निर्वाचनबाट जनप्रतिनिधि बनेका थिए । उनीहरुले पनि मत दिन पाउने विषय अहिले मकवानपुरमा चर्चाको बिषय बनेको छ ।
मकवानपुरबाट कुल ११८ मतदाताले मतदान गर्ने छन् । जसमा जनप्रतिनिधि बनिसकेका ३ जनाले पनि मत दिने छन् । मतदान दिने जनप्रतिनिधिहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का अध्यक्ष सविन न्यौपाने ,वडा नम्वर ४ का अध्यक्ष नविन सिग्देल, र वडा नम्वर ६ का वडा सदस्य देवराज रिमाल रहेका छन् ।
पत्रकार महासंघ मकवानपुरले दिएको जानकारी अनुसार नयाँ कार्यसमितिले उनीहरुको सदस्यता नविकरण गरेको भने छैन् । महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईको अनुसार हाल ११८ जना बाट कटौती गरेर १०४ जनाको मात्र सदस्यता नविकरण गरीएको छ । तर पत्रकार महासंघको केन्द्रिय निर्देशन पुरानै सदस्यहरुले मतदान गर्न पाउने भएको कारण जनप्रतिनिधि बनिसकेका पुराना सदस्यहरुलाई मतदान गर्न नदिनबाट आफुहरुले रोक्न नमिल्ने बताए ।
