बाल विवाह बिरुद्ध मनहरीका जनप्रतिनिधि

तु खबर संवाददाता
२०७५ बैशाख ९, आईतवार ०९:५१

मकवानपुर, ९ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिले बालविवाहबिरुद्ध कार्ययोजना निर्माण गरेका छन् । राज्यले विवाह गर्ने उमेर २० बर्ष तोकेपनि १५–१६ बर्षको उमेरमा विवाह गर्ने क्रम नरोकिएपछि गाउँपालिकाले कार्ययोजना निर्माण गरेको हो ।

प्लान नेपाल मकवानपुरको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि बालविवाहबिरुद्धको राष्ट्रिय रणनीतिक योजनाका बारेमा जानकारी गराउने प्रयास गरिएको बालकल्याण मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले बताए । शुक्रबार र शनिबार दुईदिन बालकल्याण समाजले गाउँपालिकाका जनप्रतिनिधि, बालसंरक्षण समिति र सम्बद्ध सरोकारवालाहरुका लागि आयोजना गरेको बाल विवाहबिरुद्धको राष्ट्रिय रणनीतिक योजनासम्बन्धी अभिमुखीकरण पछि कार्ययोजना निर्माण गरिएको हो ।

केन्द्रीय बालकल्याण समितिका परियोजना संयोजक आत्माराम थापाले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्षहरु, बालसंरक्षण समितिका पदाधिकारीहरु, बालक्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बाल विवाह तथा कम उमेरमा हुने विवाहबिरुद्ध कार्ययोजना निर्माण गरी कडाईकासाथ लागू गरिने अध्यक्ष उप्रेतीले बताए । शनिबार निर्माण गरिएको कार्ययोजनालाई आवश्यक छलफल गरी संशोधन गरिनेछ । मनहरी गाउँपालिकाका हरेक माविहरुमा बर्षेनी १० देखि १५ जना छात्रछात्रा बालविवाह गरी पढाई छोड्ने गरेको पशुपतिनाथ माविका प्रअ भानुभक्त आचार्यले बताए । परिवारको अनुमतिमा भन्दा पनि आफूखुशी बालविवाह गर्ने क्रम बढेकोमा सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*