पत्रकार महासंघ मकवानपुर भवनमा ताला लगाइएपछि महासंघ बाहिरै उम्मेदवारी दर्ता गर्ने तयारी
मकवानपुर, ७ बैशाख । नेपाल पत्रकार महासंघको यही बैशाख २२ गते हुने प्रदेश स्तरीय चुनावको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताका समयमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको भवनमा विभिन्न पत्रकार संगठनहरुले ताला लगाईदिए पछि अहिले महासंघ भवन बाहिरै उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको छ । बाहिर नै उम्मेदवारी दर्ता हुने भन्दै महासंघले कुर्सी, टेबुल समेत मिलाएको छ तर आधिकारिकतामा प्रश्न उठ्न सक्ने देखिएकोले उम्मेदवारहरुले भने उम्मेदवारी दर्ता गराएका छैनन् ।
केन्द्रको निर्णय अनुसार प्रदेश राजधानीमा चुनावका सम्पूर्ण गतिविधि हुने भएपछि नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको हेटौँडामा रहेको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था मिलाएको थियो तर ठूला ३ दलले पत्रकारिता जस्तो स्वतन्त्र पेशामा समेत राजनीतिक भागबण्डा गरी एकलौटी ढंगमा सिण्डीकेट शैली लगाई कमिटि गठन गर्ने निर्णय गरेकाले क्रान्तिकारी पत्रकार संगठन,नेपाल प्रेस सोसाईटी ,मिडिया नेपाल लगाएतका ७ वटा दलका पत्रकार संगठनहरुले तालाबन्दी गरेका हुन् ।

चुनावको कार्यतालिका अन्तर्गत बिहीबार नै अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ । साथै यस अघि नै जिल्ला शाखाको अधिवेशनमा मतदान गर्ने अधिकार पाएका सबै साधारण सदस्यहरुले यो चुनावमा मतदान गर्ने अधिकार पाउने भएका छन् ।
आसन्न निर्वाचनमा ३ नम्बर प्रदेशका लागि अध्यक्षमा प्रेस चौतारीका तर्फबाट प्रताप विष्ट, महासचिवमा प्रेस सेन्टरका तर्फबाट कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गर्ने निर्णय भएको छ । त्यसका साथै अध्यक्षकै पदसहित अन्य पदमा समेत बागी तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने समेत सम्भावना छ ।

