भिमफेदीमा ९४ जना महिलालाई सीपमूलक तालिम

तु खबर संवाददाता
२०७५ बैशाख ६, बिहीबार ०७:२९

मकवानपुर, ६ बैशाख । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ मा ९४ जना महिलाहरुलाई सीपमुलक तालिम दिइएको छ । महिला एकता सार्थक समाजको आयोजना तथा भीमफेदी गाउँपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोगमा विभिन्न सीपमुलक तालिम सञ्चालन भएको हो ।

सीपमुलक कार्यक्रम अन्तर्गत क्रिष्टलको गहना बनाउने तालिममा भीमफेदी–३, आँपचौरका २३ जना, झल्कनेका २४ जना र इकचुङका २० जना महिलाहरु सहभागी थिए । त्यसैगरी झल्कनेस्थित वडा कार्यालयमा सञ्चालन भएको डल, कुशन बनाउने तालिममा २७ जना स्थानीय महिलाहरु सहभागी भएका थिए ।
बुधबार निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सुझाव दिएका छन् । उनले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गरेकी हुन् ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताए । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्तव्य दिँदै भिमफेदी– ३, का वडा अध्यक्ष प्रितिलाल लामाले तालिम लिएका महिलाहरुलाई अन्य सहयोग आवश्यक परेमा वडाले सहयोग गर्ने बताए । ३ नं. वडाबासीको समृद्धि र विकास नै यस वडाको विकासको आधार भएको बताउँदै वडा अध्यक्ष लामाले वडाबासीको समस्या समाधानमा वडा सँधैं तयार रहेको बताए ।

कार्यक्रममा मन्तव्य दिँदै प्रशिक्षक अञ्जु तामाङले आफूले सिकाएका केही व्यक्तिहरुले डल, कुशन बनाएर बेचेको भन्ने सुन्दा आफूलाई खुशी लागेको बताए । तालिममा सहभागीहरुको तर्फबाट मन्तव्य राख्दै प्रशिक्षार्थी मीनाकुमारी घलानले आफूलाई यस तालिमले क्रिष्टलको गहना बनाउन सक्षम बनाएको र आगामी दिनमा यही काम गर्ने सोच बनाएको बताए ।

कार्यक्रममा महिला एकता सार्थक समाजकी सदस्य कोपिला लामाले आफू यस तालिमको सुरुदेखि अन्तिमसम्म प्रत्यक्ष रुपमा सहभागी हुँदा सहभागीहरुबाट व्यवसायिकताको अपेक्षा राखेको बताए । महिला एकता सार्थक समाजका अध्यक्ष प्रमिला लामा (पुलामी)को सभाध्यक्षता तथा ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो । कार्यक्रममा वडा सचिव माधवप्रसाद कँडेल, वडा सदस्य कृष्णमाया थिङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*