६ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री मगर
काठमाडौं / खानेपानी मन्त्री बिना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताएकी छन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री मगरले राजधानीलगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको बताइन् ।
उनले भनिन्, ‘६ महिनापछि मेलम्चीको पानी वितरण सुरु भएपछि राजधानीको खानेपानी समस्या समाधान हुन्छ, चार घण्टासम्म भएपनि पानी दिन सकिने अहिलेको अनुमान छ, मेलम्चीको १७ करोड लिटर पानी उपत्यकाका धेरै स्थानमा पु¥याउने मन्त्रालयको लक्ष्य छ ।’
मन्त्रालयका सचिव कृष्णराज बिसीले मेलम्चीको पानी व्यवस्थित रुपमा राजधानीको धेरै भन्दा धेरै घरमा वितरण गर्ने तयारी गरेको बताए ।
कार्यक्रममा बोर्डका अध्यक्ष एवम् खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले उपत्यकाको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधानका लागि याङ्री र लार्केलाई पनि सफल रुपमा उपत्यका ल्याउनुपर्ने धारणा राखे । – रासस
