अमेरिकाका अधिकांश भागमा भारी वर्षा, हावाहुरी र बाढी
न्युयोर्कसहित अमेरिकाका अधिकांश भागमा भीषण पानी र हावाहुरीका कारण मौसम प्रतिकूल बनेको छ। आँधीका कारण आजको १००औँ थ्याङ्क्सगिभिङ डे परेड स्थगित गरिएको छ । अब यो परेड शनिबार आयोजना गरिने तय भएको छ । विभिन्न शहरहरुमा बाढीको चेतावनी जारी गरिएको छ ।
न्युजर्सीका सम्पूर्ण क्षेत्रहरुमा आपत्काल लागु गरिएको छ भने न्युयोर्कमा केही क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । यी दुबै स्टेटका गभर्नरहरुले हावाहुरी र भीषण वर्षाको पूर्वानुमानसँगै आपत्काल घोषणा गरेका हुन् भने उद्धारमा खटिने संयन्त्रहरु सक्रिय भइसकेका छन् ।
आँधीले नर्थ क्यारोलाइनादेखि न्युजर्सीसम्मका तटीय गाउँ तथा सहरहरू डुबानमा पारेको छ। सडकहरू बन्द गरिएका छन् र आपत्कालीन उद्धारकर्मीहरूले पानीमा फसेका कारहरूबाट मानिसहरूको उद्धार गरिरहेका छन्।
भीषण पानीका कारण राजमार्गहरू बन्द भएका छन्। तीव्र हावाहुरीका कारण बिहीबार बिहान भर्जिनियाको चेसापिक खाडीमा रहेको करिब १८ माइल (२९ किलोमिटर) लामो ‘चेसापिक बे ब्रिज’ केही घण्टाका लागि बन्द गरिएको थियो। नर्थ क्यारोलाइनाको आउटर ब्याङ्क्सस्थित ह्याटरस टापुलाई मुख्य भूमिसँग जोड्ने एकमात्र राजमार्ग ‘एनसी १२’ बालुवाको ढिस्को नाघेर समुद्रको पानी दुई लेनको सडकमा पसेपछि बन्द गरिएको छ।
त्यस्तै, मिसौरी र इलिनोइसका केही भागमा पनि चेतावनीहरु जारी गरिएका छन् । यस क्षेत्रमा १३ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । पश्चिमी तटमा उच्च ज्वारभाटा आउने क्रम जारी छ, जसका कारण दक्षिणी क्यालिफोर्नियादेखि सान फ्रान्सिस्को क्षेत्र हुँदै ओरेगन र वासिङ्टनको तटसम्म तटीय बाढीको चेतावनी जारी गरिएको छ।
राष्ट्रिय मौसम सेवाका अनुसार थ्याङ्क्सगिभिङ डेदेखि शुक्रबार बिहानसम्म पूर्वी अमेरिकाका विमानस्थलहरूमा कम भिजिबिलिटी अत्यधिक टर्बुलेन्स, तीव्र हावा र विमानमा बरफ जम्ने समस्याका कारण हवाई यात्रा प्रभावित हुने अनुमान गरिएको छ।
