बालविवाह अन्त्यमा लगानी बढाउन महासचिव गुटेरेसको आग्रह
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालविवाह रोक्न र बालिकाहरूको अधिकार सुनिश्चित गर्न तत्काल लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सन्देश जारी गर्दै विश्वभर तीव्र रूपमा फैलिरहेको बाल विवाह रोक्न उनले आग्रह गरेका हुन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघबाट महासचिज गुटेरेसले विज्ञप्ती जारी गर्दै हरेक तीन सेकेन्डमा एक बालिकाको बाल्यकाल बालविवाहका कारण खोसिने गरेको र विश्वका पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको भयावह तथ्याङ्क सार्वजनिक गरेका छन् ।
उनका अनुसार गरिबी, द्वन्द्व, जलवायु परिवर्तनका सङ्कट र विस्थापनजस्ता कारणहरूले बालिकाहरूलाई अझ बढी जोखिममा पारेका छन्।
महासचिव गुटेरेसले बालविवाहको यो प्रथालाई रोक्न स्पष्ट उपायहरू विद्यमान रहेको उल्लेख समेत बताएका छन् । बालिकाहरूलाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसरमा सुधार ल्याउने, सामाजिक र कानुनी सुरक्षालाई सुदृढ बनाउने तथा समाजमा रहेका भेदभावपूर्ण लैङ्गिक मान्यताहरूलाई चुनौती दिनाले बालिकाहरूले आफ्नो अधिकार पुनः प्राप्त गर्न सक्ने उनले जनाएका छन् । विगत २५ वर्षमा यस्ता प्रयासहरूबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको भए पनि पछिल्लो समय बजेट तथा वित्तीय सहयोगमा भएको कटौतीले सो प्रगति जोखिममा परेको महासचिवले बताएको विज्ञप्तीमा उल्लेख छ ।
अहिलेकै सुस्त गतिमा अघि बढेमा बालविवाह पूर्ण रूपमा उन्मूलन गर्न अझै शताब्दीयौँ लाग्ने भन्दै महासचिवले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
यस वर्षको ‘बालविवाह अन्त्य गरौँ र बालिकाहरूको अधिकारमा लगानी गरौँ’ भन्ने मूल नाराका साथ मनाइँदै गरिएको दिवसका अवसरमा उनले विश्वका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेताहरूलाई प्रमाणित भइसकेका समाधानहरूमा लगानी बढाउन समेत आग्रह गरेका छन् ।
सम्पूर्ण बालिकाहरूको बाल्यकाल बाँच्न पाउने अधिकारको रक्षा गर्दै उनीहरूलाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने स्वतन्त्र वातावरण मिलाउन सबै पक्ष एकबद्ध हुनुपर्नेमा राष्ट्रसंघले दिँदै आएको छ ।
