सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

तु खबर संवाददाता
२०८३ आश्विन २५, आईतवार १७:५६

लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले उक्त बजेट प्रस्तुत गरेका हुन्।

बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक गतिविधि तथा विकास निर्माणसम्बन्धी कामले गति लिने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको स्रोतका रूपमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र सङ्घीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन भई बचत हुने अनुमानित ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरेको छ।

बजेटमा सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।