बज्जिकाको स्वतन्त्र पहिचान होस् भन्ने अभियानमा छु

तु खबर संवाददाता
२०८३ आश्विन २०, मंगलवार १९:१८

सर्लाहीमा जन्मिई रौतहटमा हुर्केर पर्सा र काठमाडौँमा अध्ययन गरेका विश्वराज अधिकारी जन्मले नेपाली मातृभाषी हुन् तर उनी जन्मे र हुर्केको ठाउँ मूलतः बज्जिका मातृभाषी क्षेत्र हो ।

दुई दशकभन्दा लामो समयदेखि अमेरिकामा रहेर मूलतः प्राध्यापन पेसामा आबद्ध अधिकारी नेपाली भाषाका साहित्यकार हुन् । उनको नेपाली भाषाको साहित्यमा महत्वपूर्ण योगदान छ । बज्जिका साहित्यमा पनि साहित्यकार अधिकारीको स्थान निकै उच्च छ । अहिलेसम्म बज्जिकामा बङ्गमतीसे लमहा(गीतसङ्ग्रह), कहाँ गेल ऊ लोग(संस्मरण), बज्जिका कहावत( कहावतसङ्ग्रह), हरिअरी( लघुकथासङ्ग्रह), बज्जिका लघुकथासङ्ग्र (सह-लेखन) गरी बज्जिका भाषामा उनका पाँच कृतिहरू प्रकाशित छन्।

नेपाल र भारतमा बज्जिका साहित्यकाशका उज्ज्वल नक्षत्र अधिकारीको बज्जिका रचना विश्वका विभिन्न देशमा पढिन्छ । बज्जिका भाषा र साहित्यको क्षेत्रमा मात्र नभई बज्जिका पत्रकारिता तथा पुरस्कारको क्षेत्रमा समेत योगदान दिइरहेका अधिकारीसित बज्जिका साहित्यमै केन्द्रित रहेर प्रश्नोत्तर गरेका छौँ । प्रस्तुत छ, साहित्यकार अधिकारीसित गरिएको प्रश्नोत्तरः

बज्जिका साहित्यकार भनेपछि तपाईँलाई कस्तो लाग्छ?

अति नै हर्ष लाग्छ। यथार्थमा म बज्जिका साहित्य मात्र होइन, बज्जिका-भूगोल, संस्कृति, परम्पारा आदिसङ्ग अतिनै जोडिएको व्यक्ति हो।

बज्जिका साहित्यतिर कसरी आकर्षित हुनुभयो?

बज्जिका साहित्यतिर आकर्षित भएको भन्नु भन्दा पनि म बज्जिका बोलेर हुर्केको व्यक्ति हो। मेरो बालापन र म नव युवा हुँदाको कालखण्ड बज्जिका समाज र बज्जिका भाषासङ्ग जोडिन आउँछ। मेरा यी दुई अवस्थाका संस्मरणहरू बज्जिका समाजसङ्ग जोडिएको छन। मलाई बज्जिक साहित्यतिर लाग्ने वा आकर्षित हुने कारणहरू यिनै हुन्।

तपाईँ बज्जिका साहित्यमा आफ्नो स्थान कहाँ देख्नुहुन्छ?

यो प्रश्नको उत्तर मसङ्ग छैन। म स्थानको खोजि गर्नमा रुचि पनि राख्दिन। म “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥” म विश्वास गर्ने व्यक्ति हो। मैले केवल कर्म गर्दै जाने हो। बज्जिका भाषामा लेख्दै जाने हो। बज्जिका समाज, जहाँ जन्मे र हुर्के, त्यो समाजप्रति आफ्नो कर्तव्य पूरा गर्नु हो।

बज्जिका भाषाका मुख्य विशेषता?

बज्जिका भाषाका मुख्य विशेषता के सन्दर्भमा भन्न खोज्नु भएको हो मैले ठिकसङ्ग बुझ्न सकिन। यदि इतिहास भन्न खोज्नु भएको हो भने यो दक्षिण एशियाका प्रचीन भाषाहरू मध्येको एक भाषा हो। नेपालका बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाहरूमा यो भाषा बोलिने गरिन्छ। यसबाहेक भारतको विहार राज्यको विभिन्न स्थानहरू जस्तै वैशाली, मजफरपुर, मा बज्जिका भाषा बोलिन गर्छ।

बज्जिका साहित्यको कुनै विशेष उपलब्धि छ?

बज्जिका साहित्यको विशेष उपलब्धि भनेको यो भाषामा अहिले धेरै पुस्तकहरू लेखिएका छन्। प्रकाशित भएका छन्। बजारमा उपलब्ध समेत छन्।  बज्जिका भाषाका अभियन्ता रामचन्द्र महतो कुशवाहा, सञ्जय मित्र लगातत अन्य विभिन्न व्यक्तिहरूले बज्जिका भाषामा धेरै पुस्तकहरू लेख्नु भएको छ। बज्जिका भाषामा लेखिएका पुस्तकहरू पढेर बज्जिकाञ्चल क्षेत्रको संस्कृति, परम्परा, इतिहास बुझ्न सजिलो हुन्छ।

तपाईँको नाममा पुरस्कार कोष तथा पुरस्कार पनि स्थापना भएको छ, कस्तो लाग्छ?

खुसी लाग्छ। खासम मेरो नाममा मात्र होइन, यो पुरस्कार सञ्जय साह मित्र र मेरो नाममा संयुक्त रुपमा स्थापना गरिएको हो। मैले मेरो नाममा यो पुरस्कार स्थापना नगर्न अनुरोध गरेको थिएँ। म भन्दा अन्य कुनै व्यक्ति जसले बज्जिका भाषाको विकासमा विशेष योगदान पुर्याएको हो उहाँको नाममा स्थापना गर्न अनुरोध गरेको थिएँ। यो पुरस्कारको नाम ‘विश्व सञ्जय पाण्डुलिपि पुरस्कार’ हो।

विश्वका कुन कुन देशमा बज्जिकाभाषी छन् र साहित्यको सिर्जना भइरहेको छ?

यो प्रश्नको सही उत्तर मसङ्ग छैन। म केवल सुनेको र देखेको भरमा अनुमान गर्न सक्छु। नेपाल, भारत, मरिससमा बज्जिका भाषा बोलिने गर्छ। यसैगरी संसार भरिका अनेक देशहरूमा छरिएर रहेका बज्जिका भाषीहरूले परिवारमा बज्जिका भाषा बोलेको म स्वयंले देखेको छु।

बज्जिका साहित्यकारहरूको भनाइ छ कि तपाईँ बज्जिकालाई वैश्वीकरण गर्ने विशिष्ट भूमिका खेल्दै हुनुहुन्छ, कुरो के हो?

त्यो कुरा सत्य हो। म बज्जिका भाषाको आफ्नो स्वतन्त्र पहिचान होस् भन्ने अभियानमा लागेको छु। बज्जिका साहित्यकारहरू, नेपाल तथा भारत दुबै तर्फका, लाई जुम प्रविधि मार्फत जोडेर अनेक साहित्य कार्यक्रम म स्वयंले सञ्चालन गर्ने गरेको छु। यी कार्यक्रमहरू कविता, लघुकथा, कथा, संस्मरण जस्ता विषयहरूमा केन्द्रित हुन्छन।

नेपाली र बज्जिका साहित्यबिच मुख्य समानता र भिन्नता बताउनुहोस्।

धेरै समानता छ। जस्तै एउटै लिपि छ। व्याकरण पनि करिब करिब उस्तै छ। यसैगरी भिन्नताको कुरा गर्ने हो भने बज्जिकाञ्चलमा बसेका बज्जिका भाषाका साहित्यकारहरूले बज्जिकाञ्चलको लोक साहित्य अझै प्रभावकारी किसिमले लेख्न सक्नु हुने जस्तो मलाई लाग्छ। नेपाली भाषामा लेखिएका भन्दा बज्जिका भाषामा लेखिएका साहित्यहरूले बज्जिकाञ्चलको मनोविज्ञानलाई राम्रो गरि प्रस्तुत गर्न सक्ने मेरो विश्वास छ।

बज्जिका भाषामा गहन साहित्यिक पुस्तकहरू लेखियोस, प्रकाशित होस, पाठकहरूको संख्या पनि वृद्धि होस् म यस्तो कामना गर्दछु। मेरो विचारमा भाषालाई जति माया गर्यो त्यो त्यतिनै विस्तार हुन्छ। राजनीति र स्वार्थ सिद्धीका लागि कुनै भाषाको प्रयोग हुन थाले पछि त्यो भाषाको विस्तार र विकास गर्न कठिन हुन्छ।