नेपालका परराष्ट्रमन्त्रीद्वारा भुटानका प्रधानमन्त्रीसित भेटवार्ता

गिरिजा अधिकारी, न्युयोर्क ।
२०८३ आश्विन ६, मंगलवार ०५:४८
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सित द्विपक्षीय भेटवार्ता गर्दै । फोटोः राजन काफ्ले / खसोखास

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आज भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सित द्विपक्षीय भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघ मुख्यालयमा भुटानका प्रधानमन्त्रीसित न्युयोर्कमा भएको भेटमा द्विपक्षीय हीतका सन्दर्भमा कुराकानी भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।

महासभामा आएका परराष्ट्रमन्त्री खनालले युरोपेली संघ, पोल्यान्ड, पोर्चुगल र जापानका राजनीतिक नेतृत्वसित भेटवार्ता समेत गरेका छन् ।

परराष्ट्रमन्त्री खनालले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरा तथा पोल्यान्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री राडोस्लाव सिकोरस्कीसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा नेपाल र येरोपेली संघबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको थियो ।

आजै न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाललाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, महाबाणिज्यदुत दधिराम भण्डारी लगायतका कुटनीतिज्ञहरुले स्वागत गरेका थिए ।

रसुवा भोटेकोशीमा आएको बाढीपछि नेपालले अन्तराष्ट्रिय रुपमा क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठेपछि प्रधानमन्त्री आफै महासभामा आउने भएका छन् । प्रधानमन्त्री नै महासभामा आउने निर्णय हुनुभन्दा अघि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघमा सहभागिता जनाउने निर्णय नेपाल सरकारले गरेको थियो ।

परराष्ट्रमन्त्री खनालले भोलि मंगलबार पनि विभिन्न देशका विदेशमन्त्री तथा कुटनीतिज्ञहरुसित भेटघाट गर्ने कार्यक्रम छ ।