तातोपानी नाका बन्द गर्ने चिन सरकारको निर्णय
चीनले नेपाल–चीन व्यापारको महत्वपूर्ण स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोदारी क्षेत्रमा क्षतिग्रस्त सडक मर्मत गरी नाका पुनः सञ्चालनको तयारी भइरहेका बेला चिनियाँ पक्षले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी इमेल मार्फत गराएको हो ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएपछि केरुङमा रोकिएका नेपाली व्यापारीका सामानलाई तातोपानी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको थियो । त्यसका लागि व्यवसायी तथा सम्बन्धित पक्षले तातोपानी नाका सञ्चालन गराउन पहलसमेत गरिरहेका थिए । तर, यहीबीच चीनले नाका तत्काल सञ्चालनमा नआउने स्पष्ट पारेको हो ।
भदौ १० गते आएको भीषण बाढीले रसुवागढी नाका अवरुद्ध बनेपछि चीनसँगको स्थल व्यापार प्रभावित हुँदै आएको छ । रसुवागढीपछि वैकल्पिक मार्गका रूपमा हेरिएको तातोपानी नाकासमेत बन्द भएपछि चीनबाट स्थलमार्ग हुँदै नेपालमा सामान भित्र्याउन अब कोरला नाकामाथि थप निर्भर हुनुपर्ने अवस्था बनेको छ ।
तातोपानी नाका बन्द हुँदा केरुङमा रोकिएका सामान नेपाल ल्याउने व्यापारीको प्रयासमा समेत असर पर्ने भएको छ । विशेषगरी रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गको खोजीमा रहेका व्यवसायीका लागि तातोपानी बन्द हुनु थप चुनौती बनेको छ ।
चिनियाँ पक्षले तातोपानी नाका कहिलेसम्म बन्द रहने भन्नेबारे कुनै निश्चित समयसीमा भने तोकेको छैन । अर्को सूचना जारी नभएसम्म नाका बन्द रहने जानकारी दिइएकाले यसको पुनः सञ्चालनबारे तत्कालै स्पष्टता हुन सकेको छैन ।
