वर्षदिनमा दुई हजार ७०७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए

तु खबर संवाददाता
२०८३ भाद्र ९, मंगलवार १७:१५

नेपालमा गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४४ हजार ५२९ वटा सवारी दुर्घटना भएको छ भने उक्त सवारी दुर्घटनामा परी २ हजार ७०७ जनाले ज्यान गुमाउँदा ४७ हजार ५५३ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै दुर्घटनामा पर्ने सवारी साधन मोटरसाइकल रहेको छ । गत आवमा मात्रै २६ हजार ४२४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । मधेश प्रदेशमा सबैभन्दा धेरै ११ हजार ४२६ वटा सवारी साधन दुर्घटनामा परेका छन् भने त्यसपछि काठमाडौं उपत्यकामा १० हजार ४१ वटा र कोशी प्रदेशमा ९ हजार ३२० वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा ६ हजार ८२२ सवारी दुर्घटना भएको छ भने बाग्मती प्रदेशमा २ हजार ७५० वटा र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ वटा सवारी दुर्घटनामा परेका छन् । यता कर्णाली प्रदेशमा पनि १ हजार ५८० सवारी दुर्घटनामा पर्दा सबैभन्दा कम गण्डकी प्रदेशमा ५८४ वटा सवारी दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी गत वर्षमा कुल २ हजार ७०७ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा सर्वाधिक पुरुष रहेका छन्। गत आवमा २ हजार १८ जना पुरुष, ४८५ जना महिला, १२५ जना बालक र ७९ जना बालिकाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

त्यसैगरी गत वर्ष सवारी दुर्घटनामा परेर ७ हजार ८०४ जना गम्भीर घाइते भएका छन् भने ३९ हजार ७४९ जना साधारण घाइते भएका छन् । घाइते हुनमो पनि सर्वाधिक पुरुष त्यसपछि महिला रहेका छन् । त्यस्तै दुर्घटनामा परी ९९ पशु चौपाया मरेका छन् भने ५९ पशु चौपाया घाइते भएको तथ्यांकमा उल्लेख छ।

मोटरसाइकल पछि सर्वाधिक दुर्घटनामा पर्ने सवारी साधन जीप र कार रहेका छन् । गत वर्ष ६ हजार १७१ वटा जीप तथा कार दुर्घटनामा परेका छन् भने ३११६ वटा टेम्पो दुर्घटनामा परेका छन् । त्यसपछि शारिरिक शक्तिबाट चल्ने (साइकल, रिक्सा, ठेलागाडा आदि) २ हजार ५५४ वटा सवारी दुर्घटनामा परेका छन् । त्यसपछि ट्रक/ट्यांकर, बस, ट्र्याक्टर, माइक्रो, टिपर रहेको तथ्यांकमा उल्लेख छ।