काठमाडौँ उपत्यकासहित ११ जिल्लाका ८२ ठाउँमा बर्ड फ्लु संक्रमण पुष्टि
काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिँदै गएपछि पशु सेवा विभागले किसान, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका महानिर्देशक डा. उमेश दाहाल ले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत विभिन्न जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिएका हुन्। विभागका अनुसार गत चैत ४ गते मोरङमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण विस्तार हुँदै देशका ११ जिल्लाका ८२ स्थानमा पुगेको छ।
हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लु संक्रमण देखिएको विभागले जनाएको छ। सुरुआतमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा सीमित रहेको संक्रमण पछि मधेश प्रदेशको बारा र महोत्तरी हुँदै चितवन तथा नवलपरासीसम्म फैलिएको विभागको भनाइ छ।
संक्रमण काठमाडौँ उपत्यकाका तीनै जिल्लामा समेत पुष्टि भएको छ। केही दिनअघि ललितपुरस्थित सदर चिडियाखाना मा रहेका चराचुरुङ्गीमा पनि बर्ड फ्लु संक्रमण भेटिएपछि चिडियाखाना बन्द गरिएको छ। संक्रमण नियन्त्रण तथा थप फैलावट रोक्न आवश्यक निगरानी, नमुना परीक्षण र जैविक सुरक्षा सम्बन्धी उपायहरू अपनाइएको विभागले जनाएको छ।
विभागले कुखुरा तथा अन्य पक्षीपालन व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बिरामी वा अस्वाभाविक रूपमा मरेका पक्षी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा संक्रमणको आशंका भएका पक्षीसँग प्रत्यक्ष सम्पर्क नगर्न आग्रह गरेको छ। साथै संक्रमण फैलिन नदिन पशुपक्षी ओसारपसार, बिक्री वितरण तथा फार्म व्यवस्थापनमा विशेष सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।
