फिफा विश्वकप फुटबल आजदेखि सुरुः तीन देशका १६ सहरमा १०४ खेल हुने
न्युयोर्क, अमेरिका । विश्व खेलकुदकै सबैभन्दा ठुलो उत्सव ‘फिफा विश्वकप फुटबल २०२६’ आजदेखि सुरु हुँदैछ।
इतिहासमै पहिलो पटक उत्तर अमेरिकी महादेशका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा यसपटकको महाकुम्भ आयोजना गर्दैछन्। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र विश्वभरका फुटबल प्रेमीहरूलाई स्वागत गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको सर्वोच्च नियामक निकाय फिफाले जनाएको छ।
विश्वकपको ऐतिहासिक उद्घाटन खेल आज जुन ११ तारिख बिहीबार मेक्सिकोको प्रसिद्ध एज्टेका स्टेडियममा आयोजना हुँदैछ, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। अमेरिकाको पूर्वीय समय अनुसार आज दिउँसो ३ बजे (नेपाली समय अनुसार आजै मध्यराति १२ः४५ बजे) यो खेल सुरु हुनेछ। मेक्सिकोको उद्घाटन खेलसँगै भोलि जुन १२ मा अमेरिकाको लस एन्जलस र क्यानडाको टोरन्टोमा पनि विशेष समारोहका बीच खेलहरू सुरु हुने तय भएको छ। ४८ टिम सहभागी यस खेल हेर्न विश्वभरबाट लाखौँ दर्शकहरू अमेरिका, मेक्सिको र क्यानडा पुगिसकेका छन्।
यसपटकको विश्वकप थुप्रै कारणले विशेष र ऐतिहासिक बन्दैछ। इतिहासमै पहिलो पटक ४८ देशले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने टोलीको सङ्ख्या बढेसँगै कुल खेलको सङ्ख्या पनि १०४ पुगेको छ। यो सन् २०२२ को कतार विश्वकपको तुलनामा ४० खेल बढी हो। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ वटा अत्याधुनिक सहरहरूमा खेलहरू सञ्चालन हुनेछन्। मेक्सिको र अमेरिकाले यसअघि पनि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानडाले पुरुष विश्वकप आयोजना गर्न लागेको यो पहिलो पटक हो।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको यो २३ औँ संस्करण हो। हालसम्मको इतिहास नियाल्दा ब्राजिलले सर्वाधिक ५ पटक उपाधि जितेको छ भने इटाली र जर्मनीले ४-४ पटक यो ट्रफी उचालेका छन्। त्यस्तै, वर्तमान विजेता अर्जेन्टिनाले ३ पटक, उरुग्वे र फ्रान्सले २ पटक तथा इङ्गल्याण्ड र स्पेनले १-१ पटक उपाधि जितेका छन्। ४८ टोलीको यो नयाँ र रोमाञ्चक ढाँचामा यसपटक कुन देशले सुनौलो ट्रफी उचाल्ला भन्ने चासो र उत्साह अहिले विश्वभर चुलिएको छ।
