१० महीनामा सरकारले खर्चियो ११ खर्ब ७३ अर्ब
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ।
समीक्षा अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पुँजीगत खर्च १ खर्ब १३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ४५ अर्ब २ करोड रहेको छ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब ८८ अर्ब ५५ करोड पुगेको छ। यसअन्तर्गत कर राजस्व ८ खर्ब ९३ अर्ब ५६ करोड र गैरकर राजस्व ९४ अर्ब ९९ करोड परिचालन भएको छ।
२०८३ वैशाख मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १६ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ। २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३७ अर्ब ७८ करोड रहेको थियो।
