संसद् छलेर अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूको बैठक आज

तु खबर संवाददाता
२०८३ बैशाख १६, बुधबार ०९:५९

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि विपक्षी दलहरूले आज संयुक्त बैठक बस्दैछन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्। उनका स्वकीय सचिव एम ढुङ्गानाका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका संसदीय दलका नेतालाई आमन्त्रण गरिएको छ।

बैठकमा सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको कदम, त्यसको राजनीतिक र संवैधानिक असर, तथा विपक्षी दलहरूको साझा प्रतिवाद रणनीतिबारे छलफल हुने बताइएको छ।सरकारले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गर्न रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो। मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेपछि मात्र अध्यादेश ल्याइएको विषय सार्वजनिक भएको हो। राष्ट्रपतिको कार्यालयले भने ती अध्यादेश अध्ययनकै क्रममा रहेको जनाएको छ।

यस कदमप्रति कडा प्रतिक्रिया दिँदै नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण र सार्वभौम संसद्को अपमान भएको बताएका छन्। उनले लोकतन्त्र, जनअभिमत र संविधानको मर्मविपरीत कुनै कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्।प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तर सरकारबाहिर रहेका दलहरू—कांग्रेस, एमाले, नेकपा, राप्रपा लगायत—हाल विपक्षी खेमामा छन्। यस्तै, स्वतन्त्र सांसदका रूपमा महावीर पुन पनि संसद्मा रहेका छन्।सरकारको यस निर्णयप्रति विपक्षी दलहरूले एकीकृत धारणा बनाउन र आगामी रणनीति तय गर्न आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।