‘नेपालको अर्थतन्त्रमा गम्भीर संरचनात्मक चुनौती’:मन्त्री वाग्लेद्वारा श्वेतपत्र सार्वजनिक
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पछिल्लो आर्थिक अवस्थाको यथार्थ चित्रण गर्ने ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, वैशाख २०८३’ सार्वजनिक गरेका छन् । २०८२ फागुन २१ को निर्वाचनपछि गठन भएको वर्तमान सरकारले अर्थतन्त्रको जडमा रहेका विकृतिहरूलाई चिर्दै सुधारको मार्गचित्र कोर्न यो दस्ताबेज सार्वजनिक जनाएको छ ।
स्थितिपत्रले नेपालको आर्थिक वृद्धिलाई तुलनात्मक रूपमा न्यून र अस्थिर रहेको औंल्याएको छ । पछिल्लो एक दशकमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशतमा खुम्चिएको र आर्थिक वर्ष २०८२/८३ मा यो अझ घटेर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । अर्थतन्त्रको संरचनामा उत्पादनमूलक उद्योगको योगदान कमजोर बन्दै गएको र कृषि क्षेत्रबाट सिधै सेवा क्षेत्रतर्फ विस्तार भएको उल्लेख छ ।
दस्ताबेजअनुसार नेपालको बाह्य क्षेत्र पनि जोखिमपूर्ण देखिएको छ। विशेषगरी मध्यपूर्वमा बढेको भू-राजनीतिक तनावका कारण १७.५ लाख नेपाली कामदारको रोजगारी र कुल रेमिट्यान्सको ३७.४ प्रतिशत हिस्सा जोखिममा परेको छ । यस्तै, नेपाललाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा ‘ग्रे-लिष्ट’ मा राखिएकाले अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयतामा प्रश्न उठेको उल्लेख छ ।
आन्तरिक रूपमा राजस्व परिचालनमा शिथिलता आएको छ भने बजेटको आकार यथार्थपरक हुन नसकेको टिप्पणी गरिएको छ । सार्वजनिक ऋणको दायित्व बढ्दै जाँदा र पुँजीगत खर्च गर्ने क्षमता कमजोर हुँदा विकास लक्ष्यहरू प्रभावित भएका छन् । स्थितिपत्रमा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्ष पनि कमजोर रहेको र सन् २०२५ को भ्रष्टाचार अनुभूति सूचकाङ्कमा नेपाल १०९औँ स्थानमा रहेको देखाइएको छ ।
मन्त्री वाग्लेले नेपाललाई सन् २०२६ नोभेम्बरसम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य रहे पनि यसलाई दिगो बनाउन प्रतिव्यक्ति आय बढाउनु र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नु प्रमुख चुनौती रहेको बताए । अबको मार्गचित्रमा प्रतिस्पर्धा प्रवर्द्धन, नवप्रवर्तन, र रोजगारी केन्द्रित दिगो वृद्धिलाई प्राथमिकता दिइने स्थितिपत्रमा उल्लेख छ ।
हेर्नुहोस् श्वेतपत्र:
