अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा इन्जिनियर दम्पती विरुद्ध मुद्दा दायर

तु खबर संवाददाता
२०८३ बैशाख १३, आईतवार १०:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलैया, बारास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं इन्जिनियर किशोरी प्रसाद यादव विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि आयोगले २०८३ वैशाख १० गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा यादवको सेवा प्रवेश मिति २०४७ असार ३१ देखि २०८० पुस २९ सम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो। यस अवधिमा उनको परिवारको वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रुपैयाँ ९ पैसा देखिएको छ । यद्यपि, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर तथा सवारी साधन खरिद लगायतका शीर्षकमा ४ करोड ९३ लाख २ हजार ६२६ रुपैयाँ ९९ पैसा खर्च गरेको पाइएको छ। यसरी उनको कुल आय र व्ययको तुलना गर्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको निष्कर्ष छ।

अख्तियारले यादवमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद, बिगो बमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । साथै, उनले सम्पत्ति लुकाउनका लागि झुट्टा विवरण पेस गरेको समेत पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस प्रकरणमा यादवकी श्रीमती निर्मला कुमारीलाई पनि प्रतिवादी बनाइएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति श्रीमतीको नाममा समेत राखेको र प्रयोग गरेको देखिएकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ ।