विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ।
केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार कालोसूचीमा परेका ग्राहकबाट १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता उठाउन बाँकी रहेको छ। बक्यौता असुलीलाई प्रभावकारी बनाउन केन्द्रले कठोर कदम अपनाएको उनले बताए।
उक्त अवधिमा महसुल नतिर्ने ग्राहकको विद्युत् सेवा विच्छेद गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ। यस आर्थिक वर्षमा हालसम्म १ हजार ८२६ ग्राहकको लाइन काटिएको छ। छ महिनासम्म पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्ने नीति अनुसार कारबाही गरिएको विष्टले जानकारी दिए।
हाल वितरण केन्द्र भरतपुरमा ७४ हजार ८७६ ग्राहक रहेका छन्। तीमध्येबाट रु ४९ करोड ४ लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ। बक्यौता असुलीका लागि कार्यालयले ग्राहकलाई सूचना दिने, नियमित अनुगमन गर्ने तथा आवश्यक परे लाइन काट्ने लगायतका काम निरन्तर गरिरहेको जनाएको छ।
