ललितपुरको नापी र यातायात कार्यालयबाट ३२ जना पक्राउ
ललितपुरस्थित सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै सरकारले ३२ जनालाई पक्राउ गरेको छ । बिचौलियाको आरोप लगाउँदै प्रहरीले उनीहरुलाई समातेको हो ।
ललितपुरको लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती तथा सेवा प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप पक्राउ परेकाहरुमाथि लगाइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त टोलीले नापी कार्यालय क्षेत्रबाट २१ जना र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट ११ जना गरी कुल ३२ जनालाई पक्राउ गरेको हो।
