अन्तर्राष्ट्रिय महिला दिवस: न्याय र अधिकारमा महासचिव गुटेर्रेसको जोड

तु खबर संवाददाता
२०८२ फाल्गुन २५, सोमबार ०४:१०
फोटो क्रेडिट : UNEP

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरका महिला र बालिकाहरूका लागि समान अधिकार, सक्रिय कदम र न्याय सुनिश्चित गर्न आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले एक विशेष सन्देश जारी गर्दै कानुनी भेदभावले महिलाको जीवनका हरेक पक्षलाई अझै पनि प्रभावित पारिरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

महासचिव गुटेर्रेसका अनुसार तथ्याङ्कीय रूपमा हेर्दा विश्वभरका महिलाहरूले पुरुषले उपभोग गर्ने कानुनी अधिकारको तुलनामा मात्र ६४ प्रतिशत अधिकार प्राप्त गरेका छन्। धेरै देशहरूमा अझै पनि महिलालाई सम्पत्तिको स्वामित्व राख्न, सम्बन्धविच्छेद गर्न वा श्रीमान्‌को अनुमति बिना रोजगारीमा संलग्न हुन कानुनी अवरोधहरू रहेका छन्। गम्भीर विषय त यो छ कि विश्वका ४० भन्दा बढी देशहरूमा अझै पनि वैवाहिक बलात्कारलाई अपराधको रूपमा स्वीकार गरिएको छैन, जसले महिलाको सुरक्षा र आत्मसम्मानमा ठुलो चुनौती खडा गरेको छ।

सन्देशमा महासचिवले वर्तमान समयमा देखा परेको नयाँ र खतरनाक प्रवृत्तिको समेत चर्चा गरेका छन् । उनका अनुसार बढ्दो अधिनायकवाद र राजनीतिक अस्थिरताका कारण दशकौँको संघर्षबाट प्राप्त गरिएका महिला अधिकारका उपलब्धिहरू, जस्तै सुरक्षित कार्यस्थल र प्रजनन अधिकारहरू समेत खोसिने वा कमजोर हुने क्रम सुरु भएको छ। कतिपय स्थानमा विद्यमान कानुनी व्यवस्था हुँदाहुँदै पनि फितलो कार्यान्वयनका कारण महिलाहरूले अदालत र कानुनी सहायता पाउन निकै संघर्ष गर्नुपरिरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

महासचिव गुटेर्रेसले ‘दिगो विकास लक्ष्य’ र ‘बेइजिङं’ कार्य कार्यसूची का प्रतिबद्धताहरू पूरा गर्न विश्व समुदायलाई एकजुट हुन आग्रह गरेका छन् । ‘जबसम्म हामी कानुनको नजरमा समान हुँदैनौँ, तबसम्म हामी वास्तविक रूपमा समान हुन सक्दैनौँ, भन्दै उनले विभेदकारी कानुन र पितृसत्तात्मक सोच विरुद्ध लडेर मात्र महिलाहरूले पाउनुपर्ने मर्यादा, अवसर र स्वतन्त्रता सुनिश्चित गर्न सकिने कुरामा जोड दिएका छन् ।