ट्रम्पको फ्लोरिडास्थित निवासमा छिर्न खोज्ने सशस्त्र युवकको गोली हानी हत्या

तु खबर संवाददाता
२०८२ फाल्गुन ११, सोमबार ०५:१८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास एवं विश्रामस्थल मार–ए–लागोमा जबरजस्ती प्रवेश गर्न खोज्ने एक सशस्त्र युवक सुरक्षाकर्मीको गोलीबाट मारिएका छन्।

आइतबार बिहान करिब १ः३० बजे भएको उक्त घटनामा २० वर्षीय एक युवकले निषेधित क्षेत्र नाघेर भित्र छिर्ने प्रयास गरेपछि अमेरिकी सेक्रेट सर्भिसका एजेन्टहरूले गोली चलाएका थिए। ती युवकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

सुरक्षा निकायका अनुसार ती युवक एकनाले बन्दुक र इन्धनको भाँडो बोकेर मार–ए–लागोको उत्तर प्रवेशद्वार पुगेका थिए। एक सवारीसाधन बाहिरिँदै गरेको मौका छोपेर उनी सोही गाडीको आडमा भित्र छिर्न खोजेका थिए।

सुरक्षाकर्मीले उनलाई रोकेर हतियार र इन्धन भुइँमा राख्न आदेश दिएका थिए। उनले इन्धनको भाँडो राखे पनि बन्दुक चलाउने उद्देश्यले उठाउन खोज्दा सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली प्रहार गरेका थिए।