बंगलादेशमा सत्ता परिवर्तन, बंगलादेश नेशनलिस्ट पार्टीको सशक्त पुनरागमन

तु खबर संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार १०:३२

काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनबाट बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्तामा सशक्त पुनरागमन गरेको छ। कुल ३०० सिटमध्ये २९९ सिटमा मतदान भएको यस निर्वाचनमा बीएनपीले बहुमत मात्र होइन, दुई तिहाइ नजिक पुग्ने संकेत देखिएको छ। यससँगै बीएनपी अध्यक्ष तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

बंगलादेशका २९९ निर्वाचन क्षेत्रमा भएको मतदानमध्ये हालसम्म सार्वजनिक नतिजाअनुसार बीएनपीले २०० भन्दा बढी सिटमा जित वा अग्रता लिएको विभिन्न बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। शेरपुर-३ निर्वाचन क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो।

बीएनपी अध्यक्ष तारिक रहमानले ढाका-१७ र बोगुरा-६ दुबै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्। उनी पूर्वप्रधानमन्त्री खालिदा जिया का जेठा छोरा हुन्। करिब १७ वर्ष बेलायतमा निर्वासन जीवन बिताएका तारिक गत डिसेम्बरमा मात्र स्वदेश फर्किएका थिए।

विद्यार्थी आन्दोलनबाट उदाएको नेशनल सिटिजन्स पार्टी (एनसिपी) ले भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। एनसिपीले जम्मा ६ सिट जित्ने निश्चित भएको जनाइएको छ। पार्टी संयोजक नाहिद इस्लाम ढाका-११ मा अग्रता लिइरहेका छन्।

यसैगरी जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले करिब ४५ सिट जित्दै मुख्य प्रतिपक्षको भूमिकामा रहने देखिएको छ। जमात प्रमुख शफीकुर रहमान ढाका-१५ बाट निर्वाचित भएका छन्।

जुलाई २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि यो बंगलादेशको पहिलो राष्ट्रिय चुनाव हो। उक्त आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत पुगेकी थिइन् र उनको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लागेकाले चुनावमा सहभागी हुन पाएन। भारतमा निर्वासन जीवन बिताइरहेकी हसिनाले यस निर्वाचनलाई “फर्जी र असंवैधानिक” भनेकी छन्।

हसिना देश छाडेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले निर्वाचन सम्पन्न गराएको हो।

बीएनपी अध्यक्ष तारिक रहमानले निर्वाचित भएपछि देशको कानून-व्यवस्था सुधार, लोकतान्त्रिक स्थिरता र सुशासनलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। करिब दुई दशकपछि सत्तामा फर्किन लागेको बीएनपीका लागि अब सबैभन्दा ठूलो चुनौती जनताको विश्वास जित्दै देशमा स्थायित्व कायम गर्नु हुनेछ।

राजनीतिक विश्लेषकहरूका अनुसार, विवाद र निर्वासनको लामो कालखण्डपछि तारिक रहमानको यो पुनरागमनलाई “खरानीबाट उठेको नेतृत्व” का रूपमा हेरिएको छ। बंगलादेशको नयाँ राजनीतिक अध्याय अब उनको नेतृत्वमा सुरु हुने संकेत स्पष्ट देखिएको छ।