साताको सुरुवातमै नेप्सेमा करेक्सन, १२ उपसूचक राताम्य

तु खबर संवाददाता
२०८२ माघ १८, आईतवार १५:२७

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो दबाबमा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा झरेको छ। यस दिन कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज ट्रेडिङ उपसूचक बाहेक अन्य सबै १२ वटा उपसूचकमा गिरावट देखिएको छ। होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले घट्दा हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले ओरालो लागेको छ। यद्यपि, ट्रेडिङ उपसूचक भने ०.५५ प्रतिशतले वृद्धि भएको छ।

समग्र बजार घटेको दिन पनि केही कम्पनीका शेयरमूल्य उल्लेख्य रूपमा बढेका छन्। मिथिला लघुवित्तको शेयरमूल्य ९.७० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफको ८.१९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै एनआईबीएल ग्रोथ फण्ड ६.५१ प्रतिशत र शिवश्री हाइड्रोपावर ६.०७ प्रतिशतले बढेका छन्। आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर, हुर्जा, सिन्धु विकास बैंक, १०.५०% एभरेष्ट बैंक डिबेञ्चर २०८५ र पोखरा फाइनान्सका शेयरमूल्य पनि उच्च दरले बढेका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। यस कम्पनीको मात्रै ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँ, राधी विद्युतको ३८ करोड ९८ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३१ करोड ३९ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी हिमाल दोलखा हाइड्रोपावरको १९ करोड २२ लाख रुपैयाँ, बन्दीपुर केवलकारको १८ करोड ८ लाख रुपैयाँ, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको १७ करोड ९८ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्स लिमिटेडको १९ करोड ९५ लाख रुपैयाँभन्दा बढीको शेयर खरीद-बिक्री भएको छ।