कतारमा यु-१७ विश्वकपको भव्य सुरुवात : उद्घाटन खेलमा आयोजक कतारविरुद्ध इटाली विजयी
कतारमा आजदेखि सुरु भएको ‘फिफा यु-१७ विश्वकपमा आयोजक राष्ट्र कतारलाई हराउँदै इटालीले विजयी सुरुवात गरेको छ ।
कतारका विरुद्ध इटालीका स्ट्राइकर सामुएल इनासियोले १ गोल गरेका थिए । बेनित बोरासियोको पासमा इनासियोले गरेको सोही १ गोल नै इटालीको लागि विजयी गोल हुन पुगेको हो । खेलको १९ औँ मिनेटमा भएको सो गोलका विरुद्ध कतारले इटालीको रक्षापंक्तिलाई क्रस गर्न असमर्थ रह्यो ।
यस अघि यु १७ कतार विश्वकपको उद्घाटन भव्यतापूर्वक सम्पन्न भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी ले एक विशेष समारोहका बीच यु १७ विश्वकपको उद्घाटन गरेका थिए । जारी यु १७ विश्वकपमा विश्वभरिका ४८ वटा टोली सहभागी भएका छन् ।
यस प्रतियोगिता अवधिभर १०४ खेलहरू सञ्चालन हुनेछन् भने नकआउट चरण नोभेम्बर १४ बाट सुरु हुने आयोजकले जानकारी दिएको छ। जानकारी अनुसार सहभागी टोलीहरूको समूह विभाजन यस प्रकार छ:
समूह ‘ए’ मा कतार, इटाली, दक्षिण अफ्रिका र बोलिभिया; समूह ‘बी’ मा जापान, मोरक्को, न्यु क्यालेडोनिया र पोर्चुगल; समूह ‘सी’ मा सेनेगल, क्रोएसिया, कोस्टारिका र संयुक्त अरब इमिरेट्स; समूह ‘डी’ मा अर्जेन्टिना, बेल्जियम, ट्युनिसिया र फिजी रहेका छन्। यसैगरी, समूह ‘ई’ मा इङ्गल्याण्ड, भेनेजुएला, हाइटी र इजिप्ट; समूह ‘एफ’ मा मेक्सिको, दक्षिण कोरिया, आइभोरी कोस्ट र स्विट्जरल्याण्ड; समूह ‘जी’ मा जर्मनी, कोलम्बिया, उत्तर कोरिया र एल साल्भाडोर तथा समूह ‘एच’ मा ब्राजिल, होन्डुरस, इन्डोनेसिया र जाम्बिया रहेका छन्।
त्यस्तै, समूह ‘आई’ मा अमेरिका, बुर्किना फासो, ताजिकिस्तान र चेकिया; समूह ‘जे’ मा पाराग्वे, उज्वेकिस्तान, पनामा र आयरल्याण्ड; समूह ‘के’ मा फ्रान्स, चिली, क्यानडा र युगान्डा तथा समूह ‘एल’ मा माली, न्युजिल्याण्ड, अस्ट्रिया र साउदी अरबका टोलीहरू रहेका छन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २७ मा आयोजना हुनेछ ।
