राष्ट्रिय सभाका १७ सिटका लागि देशभर मतदान सुरु

तु खबर संवाददाता
२०८२ माघ ११, आईतवार ०९:५८

काठमाडौं । राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदका लागि आज देशभर मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा मतदान भइरहेको छ।

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि निर्वाचन हुँदैछ। एक जना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने प्रावधानअनुसार यसपटक १९ जनाको पदावधि सकिँदैछ। पदावधि सकिनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आज मतदान गरिएको हो।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएका छन्।

राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ। एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन्।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ।