‘पलाँस’को पहिलो अङ्कबारे, प्रयास सराहनीय

सञ्जय साह मित्र
२०८२ पुष ३०, बुधबार २३:२५

समय कहाँबाट कहाँ अगाडि बढिसक्यो । मनहरी खोलामा कति पानी बगिसक्यो तर म भने जहाँको तहीँ छु । मनहरी खोलाले अलिकति दिनचर्या बदलेको होला र मेरो हातमा रहेको ‘पलाँस’ हवाई त्रैमासिकको पहिलो अङ्कको जस्तो धेरै कुरो मधुरो भइसकेको होला तर ‘पलाँस’का अक्षरका आँखाहरुले अझै मानिसलाई राम्ररी देख्न सक्ने गरी छ । यस पत्रिकाको पहिलो अङ्कमा परेका अक्षरहरुले बोलेका कुराहरुलाई अलिकति यहाँ स्मरण गराउने प्रयास गरेको छु ।

“शहरभरी ढलको ढूसीमा उभ्रिए झैँ बिरिरी उम्रिएका विकृतिवाहक हवाई पत्रिकाहरु देखेर गाउँबाटै साहित्य सेवा गर्न अबदेखि पलाँस हाजिर छ । सम्पादक हुने रहर नभई हवाई पत्रिकाको नाम भजेर स्वघोषित शेरहरुको न्वारन र काजकृया गर्न तथा विकृति मास्न पलाँस हाजिर छ ।

वौदै वादलाई मूर्दावाद भन्दै नवोदित र प्रतिभाहरुको सिङ तिखार्न पलाँस हाजिर छ ।
सबै जोगीले बोलेको नपुगे पनि हवाई आन्दोलनको जेहाद छेड्न पलाँस हाजिर छ ।

हरेक त्रिमासमा भेटेर लाउँला पिरती नवीन वर्ष २०५७ को शुभकामना र सुझावको अपेक्षा सहित यो अंक पलाँस हाजिर छ ।”

पलाँसको सम्पादकीयमा लेखिएको तथ्य । संयोजक/संपादक रामकुमार एलन, अतिथि संपादक गोविन्द एसिड, कार्यकारी संपादक शिव रिजाल काशी रहेको पलाँस हवाई साहित्यिक त्रैमासिकको पहिलो अंक (२०५७ वैशाख) को कम्प्युटर सेटिङ्ग यती कम्प्युटर डेक्सतप सर्भिस नारायणगढ र मुद्रण सहकारी छापाखाना नारायणगढ चितवनले गरेको छ ।

 

पहिलो लघुकथाका रचनाकार हुन् विदुर रिजाल । रिजालको परिवर्तित कसम शीर्षकको लघुकथा लघुकथाको मानकतामा टेकेर लेखिएको छ । प्रेमिकाले प्रेमीलाई धोका दिएको कुरा बताइएको छ । सँगै बाँच्ने र सँगै मर्ने खाएको कसम समयको अन्तरालमा बिर्सेर प्रेमिका अर्कैको भइसकेकी यसमा बताइएको छ ।

 

आँसु शीर्षकमा लीलाराम गाउँलेले आन्तरिक दृष्टिबिन्दुमा विछोडको पीडा पोखेका छन् । विप्रलम्भ शृङ्गारको यस कवितामा प्रेमिका अर्कैको भइसकेपछि आँसुको नशा पिइरहेको बताइएको छ । गद्यशैलीमा लेखिएको यसलाई उत्कृष्ट कविता मान्न सकिन्छ ।

निर्मला मराठाले नयाँ वर्ष शीर्षकमा प्रगतिशील विचार पोख्दै नयाँ वर्षलाई नयाँ जनचेतनाको बाटो लिएर आउन आह्वान गरेकी छन् । यसै गरी शर्मिला सुवेदीले वास्तविकता शीर्षकमा प्रेमको तलाऊ डुबुल्की मार्न आह्वान गरेकी छन् ।

श्यामकुमार बानियाँले शाश्वत सत्य शीर्षकमा बानियाँ बताउँछन् –
“सारा मान्छे धरतीमा पैसाभित्र विलिप्त छ
हत्या अनि आतंकको जताततै बिगबिगी छ
न घरले जूनी फिर्छ, फिर्छ पाखुरीले तर
मानवको जीवन यो रुपैयाँले काँ बन्छ र ?
मान्छु यदि मानिसको छाति पहरा झैँ भए
पाखुरामा उम्लिएको वीरताको रक्त भए
परजीवी बनी बाँच्नु उसले कहाँ पर्दछ र
पाखुरीमा दम्म भए स्वाबलम्बी बनिन्न र ?”

अशोक बोहरा असीम पीडाले प्रेममय अभिव्यक्ति दिएका छन् । आफूले मन पराउनुभन्दा पहिले नै मन पराइसकेको बताउँदै पीडाले व्यथित भएको स्वीकार गर्नु परेको छ । शेतराज संगमले पनि मुख्यतः प्रेममै रहेर सिर्जना गरेका छन् । असीम पीडा र संगमका दुई गजलले शास्त्रीय विषयलाई अंगीकार गर्दै आधुनिकतालाई पनि स्वीकार गरेका छन् ।
पलाँसले एकै ठाउँमा दुई लघुकथालाई प्रकाशन गरेको छ ।

पहिलो लघुकथाका रचनाकार हुन् विदुर रिजाल । रिजालको परिवर्तित कसम शीर्षकको लघुकथा लघुकथाको मानकतामा टेकेर लेखिएको छ । प्रेमिकाले प्रेमीलाई धोका दिएको कुरा बताइएको छ । सँगै बाँच्ने र सँगै मर्ने खाएको कसम समयको अन्तरालमा बिर्सेर प्रेमिका अर्कैको भइसकेकी यसमा बताइएको छ । अर्को लघुकथा दीपक कार्की लेमनको हो, बाहुन बाजे शीर्षकमा । यो लघुकथाभन्दा बढी चुटकिलाको शैलीमा रहेको छ । शुद्ध बाहुनले एक परिवेशमा आलु र कुखुराको मासु मिसाएर पकाएकोबाट आलु झिकेर मात्र खाएको बताएको भनिएको छ ।

रमेश हरिलठ्ठकको प्रेम शीर्षकमा लघुकविता रहेको छ । यसमा प्रेमको गीत गाइएको छ । विछोडको वेदनालाई स्थान दिइएको छ । सुश्री विभा अदिक्षितको मुक्तक फरक प्रकृतिको छ । विपरीत कुरालाई स्थान दिइएको छ मुक्तकमा । प्रजातन्त्र शीर्षकमा सम भारद्वाजको रचनामा प्रजातन्त्रको परिभाषाअनुसार देख्न नपाइएको बताइएको छ ।
पत्रिकामा लेखनाथ शिकारुका दुई हाइकू रहेका छन् – मौसम र नियति शीर्षकमा । यसै गरी उज्ज्वल चौलागाईँका पनि व्यापारी र वास्तविकता शीर्षकमा दुई हाइकू प्रकाशित छन् । यसै गरी पुष्करको गीत पनि प्रकाशित छ पत्रिकामा । कलात्मकता र भावको गहनताले भरिएको प्रस्तुत गीतको मुख्य विषय प्रेम नै रहेको छ । प्रेममा परेपछि पाइने छटपटीलाई यसमा देखाइएको छ ।

पत्रिकामा प्रकाशित अधिकांश रचनाका रचनाकार कुनै न कुनै पत्रिकाका सम्पादक रहेको भनी पत्रिकाको नामसहित चिनाइएको छ । यसरी विचार गर्दा पलाँस हवाई त्रैमासिक पत्रिकाको पहिलो अंकमा विशिष्ट रचनाकारहरुको रचनाले नै स्थान पाएको स्पष्ट हुन्छ ।

पलाँसको पहिलो अंक प्रकाशन भएको करिब २५ वर्षपछि पलाँसको पहिलो अंकलाई हेर्दा लाग्छ – मकवानपुरले तत्कालीन परिवेशमा साहित्यिक विकासको लागि गरेको प्रयास निकै सराहनीय थियो । तिनै प्रयासहरुको जगमा अहिलेको मकवानपुरे साहित्य देशमा सम्मान पाएको छ । मकवानपुरे साहित्यको यात्रामा यस्ता अनेकौँ पलाँसहरुको निकै ठुलो योगदान रहेको छ ।

(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४०)