विश्व–सञ्जय बज्जिका साहित्य पाण्डुलिपि पुरस्कारका लागि कृति आह्वान

तु खबर संवाददाता
२०८२ पुष २१, सोमबार २१:३४

रौतहट। बज्जिका साहित्य संगम, रौतहटले पहिलोपटक विश्व–सञ्जय बज्जिका साहित्य पाण्डुलिपि पुरस्कार–२०२६ प्रदान गर्ने घोषणा गर्दै कृति आह्वान गरेको छ।

संगमको व्यवस्थापनमा सञ्चालित विश्व–सञ्जय बज्जिका साहित्य कोषको अक्षय कोषबाट प्राप्त हुने ब्याजमार्फत सन् २०२६ का लागि १५ हजार नेपाली रुपैयाँ राशिको यो पुरस्कार प्रदान गर्न लागिएको हो।

बज्जिका भाषाको श्रीवृद्धिमा समर्पित लेखक तथा साहित्यकारहरूलाई लक्षित गर्दै आह्वान गरिएको यस प्रतिस्पर्धामा बज्जिका भाषाका कुनै पनि साहित्यिक विधाका कृतिहरू समावेश हुन सक्नेछन्। जसमा अनुवाद, अनुसन्धान, समीक्षा तथा समालोचना जस्ता विधाहरूलाई पनि समेटिएको छ। इच्छुक लेखकहरूले आफ्नो पाण्डुलिपि संगमलाई उपलब्ध गराउनु पर्ने सूचनामा उल्लेख छ ।

संगमले पाण्डुलिपि बुझाउने अन्तिम समय सीमा आगामी २०८२ माघ २९ गते सम्म तोकेको छ। पुरस्कारका लागि छनोट भएको पाण्डुलिपि पछि प्रकाशन गर्दा कृतिको मुख्य पृष्ठमा अनिवार्य रूपमा पुरस्कार प्राप्त भएको व्यहोरा उल्लेख गर्नुपर्ने सर्त राखिएको छ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त कृतिहरूलाई विशेष प्राथमिकता दिइने र निर्णायक समितिको निर्णय नै अन्तिम हुने संगमले स्पष्ट पारेको छ। विश्वभर छरिएर रहेका सम्पूर्ण बज्जिका सेवीहरूलाई यस अभियानमा सकारात्मक सहयोग गर्न अध्यक्ष किशुन दयाल श्रीकृष्णले अपिल गरेका छन् ।