गीतले बनाएको पहिचानः शब्द साधनामा जुटिरहेका सुवेदी

तु खबर संवाददाता
२०८२ पुष १७, बिहीबार १४:२५

हेटौंडा । नेपाली गीत–संगीतको संसारमा शब्दले जब आत्मा पाउँछ, तब जन्मिन्छ एउटा अमर सिर्जना । त्यस्तै शब्दका साधकमध्ये पछिल्लो समय निरन्तर चर्चा बटुल्दै गएको एउटा नाम हो किशनप्रसाद सुवेदी।

वि.सं. २०५६ साल माघ २४ गते मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेहाइटमा जन्मिएका सुवेदी, महेन्द्रप्रसाद सुवेदी र लक्ष्मी सुवेदीका सुपुत्र हुन् । सामान्य पारिवारिक परिवेशमा हुर्किए पनि उनीभित्रको सिर्जनशील चेत भने सानैदेखि असाधारण थियो । स्थानीय प्रगति माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नै उनले कविता र कथा लेखनमा गहिरो रुचि देखाए । विद्यालय जीवनमै विभिन्न साहित्यिक प्रतियोगितामा सहभागी भई पटक–पटक पुरस्कृतसमेत भए ।

उनको गीत–यात्रा २०७३ सालमा रचित ‘बाँचुल्जेल’ गीतबाट औपचारिक रुपमा चर्चामा आयो । चर्चित गायिका मेलिना राई र गायक सिएल शर्माको स्वरमा सार्वजनिक उक्त गीतको उल्लेखनीय सफलताले सुवेदीलाई गीत–सिर्जनालाई जीवनको मार्ग बनाउने प्रेरणा दियो । त्यसयता हालसम्म उनका ५० भन्दा बढी नेपाली गीतहरु सार्वजनिक भइसकेका छन् भने दर्जनौँ गीत रेकर्डको तयारीमा छन्।

सुवेदीका सिर्जनामा भावनात्मक गहिराइ, सरल शब्द संयोजन र समकालीन चेत स्पष्ट देख्न सकिन्छ। ‘शिरमाथि शिरफूल’ बोलको गीत गायिका अस्मिता अधिकारी र गायक एसडी योगीको स्वरमा सार्वजनिक भई दर्शक–श्रोतामाझ अत्यन्त लोकप्रिय बन्यो, जसमा नायिका आँचल शर्माको सशक्त अभिनय देख्न सकिन्छ। त्यस्तै ‘मुटु रेटियो’ गीत मेलिना मैनाली र टेकराज ओझाको स्वरमा, नायिका केकी अधिकारी र मोडल कमलसिंहको अभिनयसहित सार्वजनिक भयो।

क्रमश उनको शब्द रचनामा तयार भएका ‘नजरैको तिर’ (एलिना चौहान), ‘कहिलेकाहीँ’ (मेनुका पौडेल), ‘सुस्तरी’ (अन्जु पन्त र कुर्वान अली), ‘माया लाइसक्यौ’ (प्रविण बेडवाल), ‘मन पनि’ (रचना रिमाल) जस्ता गीतहरूले पनि उनको सिर्जनशील क्षमतालाई पुष्टि गरेको छ ।

सुवेदीका केही गीतहरु पारिवारिक सहकार्यको उदाहरण पनि बनेका छन्। उनकै शब्दमा तयार भएको ‘वर पिपलु’ गीतमा उनकी श्रीमती बिना राई र पत्रकार तथा गायक बलराम पुडासैनीको स्वर रहेको छ। हालसम्म सुवेदीकै प्रेरणामा उनकी श्रीमतीले ८ वटा गीतमा स्वर भरेकी छिन् । जुन उनको जीवन र सिर्जनाको बलियो साथको प्रतीक हो।

सिर्जनासँगै संस्थागत योगदान पनि सुवेदीको अर्को पहिचान हो। उनले हेटौंडामा ‘शुभारम्भ कला केन्द्र’ स्थापना गरी करिब चार वर्ष सञ्चालन गरे। यस अवधिमा ३५० जना भन्दा बढी संगीत प्रशिक्षार्थीहरूलाई संगीत सिक्ने अवसर प्रदान गर्दै विभिन्न सांगीतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाए। गीत–संगीतप्रतिको निरन्तर लगाव, योगदान र क्षमताको कदरस्वरूप गीतकार संघ नेपालले २०८१ जेठ १४ गते उनलाई ‘भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कार’ प्रदान गरेको थियो। तत्कालिन संस्कृतिमन्त्रीको हातबाट उनले यो पुरस्कार पाएका थिए ।

हाल उनका केही गीतहरू नेपाली चलचित्रका लागि सम्झौता भई निर्माणको तयारीमा रहेको सुवेदी बताउँछन्। यद्यपि उनी नेपाली गीत–संगीतको क्षेत्रमा व्यावसायिक चुनौतीहरू पनि औँल्याउँछन्। “सिर्जनाबाट मात्रै जीवनयापन गर्न गाह्रो छ, रचनाको उचित सम्मानको वातावरण अझै बन्न सकेको छैन,” उनी भन्छन्। राज्यस्तरबाट नीति, योजना र सम्मानको संस्कृति विकास भएमा यस क्षेत्रमा संघर्षरत स्रष्टाहरूलाई ठूलो प्रेरणा मिल्ने छ ।

सुवेदी आज पनि निरन्तर शब्द साधनामा जुटिरहेका छन्।  उनका गीतहरू केवल मनोरञ्जन होइनन् । संवेदना, संघर्ष र सपनाको दस्तावेज हुन्। यही निरन्तरताले उनलाई अझ उच्च शिखरतर्फ अघि बढाइरहेको छ । सुवेदीको यात्रा नेपाली गीत–संगीतप्रेमीका लागि प्रेरणाको स्रोत बनेको छ।