प्राविधिक सहायक ३० हजार घुससहित रङ्गेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको
छ । सेवाग्राहीसँग उद्योग नवीकरण गर्ने प्रयोजनका लागि घुस माग गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार चौधरीले खाद्य उद्योगको अनुमतिपत्र नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई विभिन्न किसिमले दुःख हैरानी दिई बार्गेनिङ गरेका थिए । सोही सूचनाका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा घुस लिएको तथ्य स्थापित भएपछि चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । आयोगले उनलाई ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गरेकोछ ।
