तस्करी रोक्ने क्रममा गोली चल्दा एकको मृत्यु, सुनसरीमा तनाव
सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित स्थानीयवासीले पूर्व-पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी गरेका छन्।
बिहीबार बिहान करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। सशस्त्र प्रहरीका अनुसार साह भारतबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्री बोकेर सिटी सफारीमार्फत नेपालतर्फ आउँदै गरेका थिए।
स्थानीयका अनुसार राति करिब साढे १ बजे गोली चलेको आवाज सुनेपछि बाहिर निस्किँदा वरिपरि सशस्त्र प्रहरी देखिएको र एक व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको थियो। साहलाई दुई राउण्ड गोली लागेको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा तस्कर समूहबाट पहिले फायरिङ भएको दाबी गरे। उनका अनुसार तस्कर समूहले सुरक्षाकर्मीलाई ठक्कर दिँदै भाग्न खोजेपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्दा पछाडिबाट आउँदै गरेको सिटी चालक साहलाई गोली लाग्न पुगेको हो।
तर, स्थानीयवासीले तस्करी नियन्त्रणका नाममा सशस्त्र प्रहरीले सिधै गोली चलाएको आरोप लगाउँदै प्रदर्शन जारी राखेका छन्। मृतकको शव सडकमा राखेर प्रदर्शन भइरहेको छ। हाल मोटरसाइकल बाहेक ठूला सवारीसाधनको आवागमन ठप्प भएको छ।
घटनापछि बिहीबार बिहान प्रहरी र स्थानीयबीच वार्ता भए पनि सहमति जुट्न सकेन। प्रदर्शनकारीहरूले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै शव उठाउन नदिएको कारण घटनास्थलमा तनाव कायमै रहेको छ।
