त्रिविको ५१औँ दीक्षान्त समारोह सम्पन्न, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१औँ दीक्षान्त समारोह बिहीबार दशरथ रंगशालामा सम्पन्न भएको छ । समारोहमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका गरी १६ हजार ३८० विद्यार्थी दीक्षित भएका छन् ।त्रिविबाट यस वर्ष विभिन्न तहमा कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । तीमध्ये दीक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३८० जनाले आवेदन दिएका थिए । संकायगत रूपमा मानविकीबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै त्रिविका कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइन् । विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणले उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारिरहेको बताउँदै उनले शैक्षिक प्रशासनमा हुने अनावश्यक राजनीतिक हस्तक्षेप अन्त्य गर्न जरुरी रहेको बताइन् ।प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने विद्यमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको उल्लेख गर्दै यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन् । शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपका कारण उच्च शिक्षा अपेक्षित रूपमा अघि बढ्न सकेको छैन,उनले भनिन्, विश्वविद्यालयलाई प्राज्ञिक बहस, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउन सबै पक्षको साझा प्रयास आवश्यक छ ।”
उनले नेपाली विद्यार्थीहरूको ठूलो संख्या उच्च शिक्षाका लागि विदेश जानु पर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमै गुणस्तरीय, समयानुकूल र व्यावहारिक शैक्षिक कार्यक्रम विकास गर्नुपर्नेमा जोड दिइन् । परीक्षा सम्पन्न भएपछि समयमै नतिजा प्रकाशन हुन नसक्नु पनि गम्भीर समस्या भएको भन्दै यसको समाधान खोज्न विश्वविद्यालय र सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।प्रधानमन्त्री कार्कीले प्रविधिको तीव्र विकास र विश्वव्यापी प्रतिस्पर्धाको सन्दर्भमा उच्च शिक्षामा अनुसन्धानको गुणस्तर, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नुपर्ने उल्लेख गरिन् । विश्वविद्यालयको आकार ठूलो हुँदैमा मात्र अन्तर्राष्ट्रिय स्तरको शिक्षा सुनिश्चित हुँदैन, उनले भनिन्, “प्राध्यापक-विद्यार्थी अनुपात, गुणस्तरीय शिक्षण र अनुसन्धान प्रकाशनमा सबै पक्ष सक्रिय हुनुपर्छ ।”
जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता आकाताकी काजिताको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिएको थियो ।समारोहमा त्रिविका सहकुलपति एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दीक्षित विद्यार्थीहरूलाई प्राप्त ज्ञान र प्रविधिलाई चेतना, सद्भाव र समृद्धिसहित देशको आर्थिक विकास, अशिक्षा र गरिबी विरुद्धको प्रभावकारी औजार बनाउन आग्रह गरे ।
