हादी हत्या र बम आक्रमणपछि बंगलादेश झनै अशान्ति फैलदै
काठमाडौँ। बंगलादेश राष्ट्रवादी पार्टी का कार्यवाहक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको निर्वासनपछि बिहीबार बंगलादेश फर्किएका छन्। लन्डनमा लामो समय बिताएका रहमान श्रीमती र छोरीसहित ढाका अवतरण गरेका हुन्। उनको आगमनलाई बंगलादेशको राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार, रहमानलाई बोकेको बंगलादेश एयरलाइन्सको विमान बिहान ९:५८ बजे सिल्हेटको ओस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। त्यसपछि उनी ढाका प्रस्थान गरे। ढाका आइपुगेपछि उनी पूर्वाचलको ३०० फिट क्षेत्रमा आयोजित र्यालीलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनको स्वागतका लागि जाडोको चिसो मौसमका बाबजुद हजारौं समर्थक सडकमा उत्रिएका थिए। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजधानी ढाकामा कडा सुरक्षा व्यवस्था गरिएको छ।
युवा नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा तनावपूर्ण अवस्था कायम रहँदा रहमानको स्वदेश फिर्ती भएको हो। गत डिसेम्बर १८ मा ढाकामा भएको हत्या प्रयासपछि सिंगापुरको अस्पतालमा उपचारका क्रममा हादीको मृत्यु भएको थियो। त्यसयता देशभर विरोध प्रदर्शन र हिंसात्मक घटनाहरू बढेका छन्।बुधबार ढाकाको मोगबजार क्षेत्रमा रहेको बंगलादेश मुक्तिजोद्धा संसद अगाडिको फ्लाइओभरबाट अज्ञात समूहले कच्चा बम प्रहार गर्दा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको डेली स्टार ले जनाएको छ। यसअघि इन्किलाब मोन्चोले हादीको हत्याको विरोधमा राजधानी ढाकाको शाहबाग र केन्द्रीय शहीद मिनारमा प्रदर्शन र र्याली निकालेको थियो। उक्त समूहले हत्याराहरूलाई न्यायको कठघरामा ल्याउन सरकारलाई २४ घण्टे अल्टिमेटमसमेत दिएको थियो।
इन्किलाब मोन्चो, जसले जुलाई २०२४ को विद्रोहमा अग्रपंक्तिमा भूमिका खेलेको थियो, १३ औं राष्ट्रिय निर्वाचन र जनमत संग्रहअघि आफ्ना संयोजक हादीका हत्यारूमाथि द्रुत कारबाहीको माग गर्दै आएको छ। बंगलादेशी मिडियाका अनुसार, हादी हत्या प्रकरणलाई द्रुत ट्रायल ट्रिब्युनलमार्फत अघि बढाउने तयारी भइरहेको छ।यसैबीच, मयमनसिंहमा हिन्दू युवक दिपु चन्द्र दासको हत्यापछि भारत-बंगलादेश सम्बन्धमा पनि तनाव बढेको छ। उक्त घटनाको विरोधमा नयाँ दिल्ली, कोलकाता, मुम्बईलगायत भारतका कम्तीमा सात शहरमा प्रदर्शन भएका छन्। सुरक्षा चिन्ताका कारण दुवै देशले एकअर्काका राजदूतहरूलाई बोलाएर चासो व्यक्त गरेका छन्।
बंगलादेशका शिक्षा सल्लाहकार सीआर अबरारले सरकार दिपु चन्द्र दासको परिवारको जिम्मेवारी लिइरहेको बताएका छन्। यता, हादीको हत्यापछि भएको हिंसामा डेली स्टार र प्रथम आलो लगायतका प्रमुख मिडिया कार्यालयहरूमा आगजनी भएको र पत्रकारहरू घण्टौंसम्म कार्यालयभित्र फसेको घटनाले अभिव्यक्ति स्वतन्त्रताप्रति गम्भीर चिन्ता बढाएको छ।१७ वर्षपछि स्वदेश फर्किएका तारिक रहमानलाई फेब्रुअरी २०२६ मा हुने आगामी चुनावमा प्रधानमन्त्री पदका बलिया दावेदारका रूपमा हेरिएको छ। तर उनीमाथि मनी लान्ड्रिङलगायतका विभिन्न आपराधिक अभियोग अझै विचाराधीन रहेकाले बंगलादेशको राजनीतिक भविष्य थप जटिल बन्ने संकेत देखिएको छ।
