अमेरिकाद्वारा डिभी लोटरी बन्द गर्ने घोषणा
काठमाडौं। ट्रम्प प्रशासनले ई-डिभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेको पाइएपछि ट्रम्प प्रशासनले डिभी कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।
डिभी कार्यक्रम सधैंको निम्ति बन्द गर्न संसदबाट पास हुनुपर्ने भएकोले यसलाई अस्थायी रुपमा रोक लगाइएको हो ।
केही दिनअघि ब्राउन विश्वविद्यालयमा भएको भएको अन्धाधुन्ध गोली प्रहारमा परी दुई जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोइमले यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेसलाई तत्काल डीभी कार्यक्रम रोक्न निर्देशन दिइएको जानकारी गराइन् । वार्षिक ५० हजार आप्रवासी डीभी कार्यक्रममार्फत अमेरिका पुग्ने गरेका थिए ।
नोइमले एक्समा पोस्ट गर्दै ब्राउन विश्वविद्यायलमा भएको गोलीकाण्डमा ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडिओ नेभ्स भ्यालेन्टी संलग्न रहेको जानकारी गराइन् । उनका अनुसार सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए ।
अमेरिकाले हरेक वर्ष अक्टोबर-नोभेम्बरमा ई-डाइभर्सिटी भिसा कार्यक्रमको आवेदन अनलाइनबाट लिने गर्थ्यो । जसका लाखौँ नेपालीले पनि अमेरिका जाने सपना राखेर उक्त कार्यक्रममा सहभागी हुन्थे ।
