सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्वमा शाक्यको पुनरागमन

तु खबर संवाददाता
२०८२ मंसिर २४, बुधबार ११:२९

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार कार्यभार सम्हालेका छन् ।

सर्वोच्च अदालतको आदेश प्राधिकरणमा मंगलबार प्राप्त भएपछि शाक्य बुधबार बिहान साढे १० बजे रत्नपार्कस्थित प्राधिकरणका केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

गत असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार शाक्यलाई नेपाल विद्युत प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी उनको स्थानमा मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । उक्त निर्णय कानुनविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार बदर गरिदिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पद सम्हालेसँगै शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए । यस निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए ।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यको सरुवा बदर गर्दै उनलाई प्राधिकरणमै कार्यकारी निर्देशकका रूपमा पुनःस्थापित गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चको फैसलासँगै शाक्य पुनः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा फर्किएका छन्।