भारत भ्रमणमा पुटीन,मोदीद्वारा निजी रात्रिभोज
काठमाडौं ।नयाँ दिल्लीमा बिहीबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ घण्टाभन्दा अलिक बढी अवधि रहने भारत भ्रमणका लागि आइपुग्नेछन् । आगमनसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै आधिकारिक निवासमा पुटिनको सम्मानमा निजी रात्रिभोज आयोजना गर्ने तयारी गरेका छन्, जसले दुई नेताहरूलाई सार्वजनिक चहल-पहलबाट टाढा बसेर संवेदनशील कूटनीतिक तथा रणनीतिक मुद्दाहरूमा प्रत्यक्ष कुराकानी गर्ने अवसर प्रदान गर्नेछ । यस्तो निजी बैठक गत वर्ष मोदीको मस्को भ्रमणका क्रममा पुटिनले आयोजना गरेको रात्रिभोजको प्रतिदानस्वरूप हुन लागेको भारतीय अधिकारीहरूले बताएका छन् ।
भोलिपल्ट पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रि-सेवा गार्ड अफ अनर प्रदान गरिनेछ र उनी महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । त्यसपछि हैदरावाद हाउसमा वार्षिक भारत-रूस शिखर सम्मेलनका मुख्य बैठकहरू हुनेछ जहाँ मोदी र पुटिनले प्रतिबन्धित ढाँचामा एकान्त छलफलसहित दुवै देशका प्रतिनिधिमण्डलसँग विस्तारित वार्ता गर्नेछन् । शिखर सम्मेलनमा व्यापार, अर्थतन्त्र, कृषि, ऊर्जा र शिक्षा क्षेत्रमा केन्द्रित विभिन्न सम्झौताहरू अन्तिम रूप पाउने अपेक्षा गरिएको छ ।
हाल रूसतर्फ बढी झुकेको व्यापार सन्तुलन सुधार्ने विषय दुवै पक्षको प्रमुख प्राथमिकतामा रहेको छ । गत वर्ष करिब ६८ अर्ब डलरको दुईतर्फीय व्यापार भए पनि भारतको निर्यात ५ अर्ब डलरभन्दा कम रहेकाले रूसी बजारमा भारतीय वस्तुको पहुँच विस्तार मुख्य एजेन्डामा पर्नेछ । शिखर सम्मेलनपछि दुवै नेता भारत मण्डपमा फिक्की र रोजकङ्ग्रेसले आयोजना गर्ने व्यापारिक कार्यक्रममा समेत सहभागी हुनेछन् ।
हिन्दुस्तान टाईम्सका अनुसार भ्रमणपूर्व दुई देशबीचको रक्षा सहकार्य थप गहिरो बनाउने संकेत पनि देखिएका छन् । रूसी संसद डुमाले युद्धपोत र सैन्य विमानका लागि प्राविधिक तथा लजिस्टिक सहयोग आदान–प्रदान गर्न मिल्ने सम्झौतापत्र अनुमोदन गरेको छ । फेब्रुअरीमा भारतका राजदूत विनय कुमार र पूर्व रूसी उप-रक्षा मन्त्री अलेक्जान्डर फोमिनले मस्कोमा हस्ताक्षर गरेको पारस्परिक रसद सम्झौताले संयुक्त अभ्यास, मानवीय उद्धार तथा पोर्ट कलका प्रक्रियालाई सहज बनाउनेछ, जुन अमेरिकासँगको एलइएमओए सम्झौतासँग मिल्दोजुल्दो मानिन्छ ।
रूसी अधिकारीहरूले एस-४00 वायु रक्षा प्रणाली, एस यु-५७ लडाकु विमान र आणविक ऊर्जाका लागि साना मोड्युलर रिएक्टरसम्बन्धी सहयोग पनि शिखर बैठकको मुख्य विषय बन्ने बताएका छन् । भारतमा आरटीको भारतीय च्यानल उद्घाटन गरेपछि पुटिनले राष्ट्रपति द्रौपदी मुर्मुद्वारा आयोजित भोजमा सहभागी भएर शुक्रबार साँझ आफ्नो भारत भ्रमण समापन गर्नेछन् ।
