हेटौंडामा सडक विस्तारमा अवरोध गर्नेविरुद्ध प्रशासनको चेतावनी

तु खबर संवाददाता
२०८२ मंसिर १७, बुधबार १४:०८

काठमाडौँ । मकवानपुरको हेटौंडामा भइरहेको सडक विस्तार कार्यमा अवरोध गर्ने गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडा चेतावनी जारी गरेको छ। सडक विभाग डिभिजन कार्यालय मकवानपुरले २०८२/०५/०४ को निर्णयअनुसार हेटौंडा बजार क्षेत्रमा सडक विस्तार कार्य अघि बढाइरहेको अवस्थामा जबरजस्ती अवरोध विरोध प्रदर्शन र काम रोक्ने प्रयास भइरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण गराएको हो।

जारी सूचनामा प्रशासनले हेटौंडा उपमहानगरपालिकाको वडा नं. १, २, ३, ४ लगायतका क्षेत्रमा सडक विस्तारका लागि गरिएका निर्माण गतिविधि स्थानीय सरकारले नै अनुमोदन गरेको तथा डोजर, कटरलगायत उपकरण प्रयोग गरी काम भइरहेको उल्लेख छ। तर केही समूहले उक्साएर काम रोक्न बाध्य बनाउने प्रयास गरेको भन्दै त्यस्ता गतिविधि गैरकानुनी भएको प्रशासनले स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा बल प्रयोग, अवरोध, भीडभाड, तोडफोड वा भीड जम्मा गराई काम प्रभावित पारेमा कोही पनि कानूनी कारबाहीबाट उम्कन नपाइने चेतावनी दिएको छ। प्रशासनले सहजरूपमा काम सम्पन्न गर्न सबै स्थानीयवासी, संघ-संस्था र सर्वसाधारणको सहयोगको समेत अपील गरेको छ।सूचना प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जारी गरेका हुन्।