शीतलहर र हिमपात रोकथामका उपाय तुरुन्त लागू गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने लक्ष्यसहित सरकार पूर्ण रूपमा सचेत रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले शीतलहर तथा हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए ।
गृहमन्त्री अर्यालले मानवजीवन र सम्पत्तिको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संघ, प्रदेश, स्थानीय सरकार सहित गैरसरकारी संस्था, निजी क्षेत्र, दातृ संस्था तथा नागरिक समाजबीच सुदृढ समन्वय आवश्यक भएको बताए । उनले समयमै पूर्वसूचना प्रवाह, प्रारम्भिक चेतावनी, सुरक्षित आश्रयको व्यवस्था र प्रभावकारी उद्धार–राहत कार्य संचालन गर्न सम्बद्ध निकायलाई जिम्मेवारीपूर्वक परिचालन गर्न अनुरोध गरे । हिमपात तथा शीतलहरका कारण विकास गतिविधि अवरुद्ध हुन नदिन पनि उनले विशेष ध्यान दिनुपर्ने बताए ।
प्राधिकरणले मंसिर १५ भित्र शीतलहर र हिमपातबाट प्रभावित हुन सक्ने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक गर्ने, लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने तथा जोखिम सुरू हुनु अघि नै आवश्यक पूर्वतयारी पूरा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । शीतलहर तथा हिमपात अघि–पछि उद्धार, राहत तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाउँदै क्षति न्यूनिकरण गर्ने लक्ष्यअनुसार काम गरिने प्राधिकरणले जनाएको छ ।
