आज बाला चतुर्दशी मनाइँदै

तु खबर संवाददाता
२०८२ मंसिर ३, बुधबार ०८:५६

काठमाडौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आज बाला चतुर्दशी पर्व मनाइँदैछ। आज शिवालय तथा तीर्थस्थलमा सात प्रकारका अन्न (शतबीज) छर्ने गरिन्छ।

आफ्ना दिवंगत पितृहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भन्ने मनोकामना सहित शतबीज छर्ने गरिएको हो। शतबीजमा धान, गहुँ, मास, मुँगी, तील, चना, मकैका साथसाथै सुन्तला, स्याउ, अम्बा, केरा आदि पनि प्रयोग गर्ने गरिन्छ।

पौराणिक कथा अनुसार बाला नामको असूरले आर्यघाटमा आएका शव खाने र तर्साउने गरेपछि राजाले उनका साथी ब्रिसलाई बालालाई मार्न पठाएका थिए तर मित्रताको कारण ब्रिसले बाला मार्न सकेनन् र समाधान खोज्न शिवको तपस्या गरे।

ब्रिसको भक्ति देखेर शिवले बालालाई असूर प्रवृत्तिबाट मुक्त गरिदिए र उनलाई शान्ति दिलाउन शत बीज छर्न आदेश दिए। त्यसपछि यही दिनदेखि शत बीज छर्ने परम्परा शुरु भएको मानिन्छ जुन आजसम्म मृतात्माको सम्झना, मुक्ति र स्नेहको प्रतीकका रूपमा पालन गरिंदै आएको छ।