भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना: इन्धन ट्याङ्की विस्फोटपछि २० को मृत्यु
आन्ध्र प्रदेशको कुर्नूल जिल्लाको कल्लुर मण्डल अन्तर्गत चिन्नातेकुर गाउँ नजिक शुक्रबार बिहान भएको भीषण बस दुर्घटनामा २० यात्रुको ज्यान गएको छ । हैदराबादबाट बैंगलोरतर्फ गइरहेको कावेरी ट्राभल्सको बसले राष्ट्रिय राजमार्ग–४४ मा मोटरसाइकललाई ठक्कर दिँदा इन्धन ट्याङ्की विस्फोट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसमा करिब ४४ जना सवार थिए।
प्रहरीका अनुसार दुर्घटना बिहान ३:३० बजेतिर भएको हो। ठक्कर पश्चात मोटरसाइकल बसमुनि अड्किएर इन्धन ट्याङ्कीमा ठोक्किँदा आगो सल्किएको थियो। बसमा सवार अधिकांश यात्रु निद्रामा रहेकाले समयमै बाहिर निस्कन नसकी गम्भीर दूरी दुर्घटनामा फस्न पुगे। केही यात्रुले झ्यालका सिसा फुटाएर भाग्न सफल भए भने धेरै यात्रु केही मिनेटमै फैलिएको आगोका कारण बसभित्रै जलेर मृत्यु भए।
कुर्नूलका जिल्ला कलेक्टर डा. ए. सिरीका अनुसार ४१ मध्ये २१ जनालाई सकुशल उद्धार गरिएको छ। बाँकी २० जनामध्ये ११ जनाको शव पहिचान भइसकेको छ। घाइतेहरूलाई कुर्नूल सरकारी सामान्य अस्पतालमा उपचारका लागि लगिएको छ। उद्धार भएका यात्रुहरूमा नवीन कुमार, अखिल, जसमिथा, अकिरा, रमेश, जयसूर्य, हरिका, सुब्रह्मण्यम, रामिरेड्डी, वेणुगोपाल रेड्डी, सत्यनारायण र श्रीलक्ष्मी रहेका छन्।
हीन्दुस्तान टाईम्सका अनुसार दमकल विभागले चारवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याउने प्रयास गरे पनि घटनास्थलमा पुग्दा बस पूर्णरूपमा जलेर खरानी बनेको थियो। स्थानीय बासिन्दाले दमकल टोली पुग्नुअघि नै उद्धारका प्रयास गरेका थिए। दुर्घटनापछि बस चालक फरार भएकोले प्रहरीले उनीहरूको खोजी सुरु गरेको छ र लापरवाही तथा इन्धन चुहावट दुर्घटनाको कारण हुन सक्ने आशंका व्यक्त गरेको छ।
राष्ट्रपति द्रौपदी मुर्मुले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको चाँडो स्वास्थ्यलाभको कामना गर्नुभएको छ। विदेश भ्रमणमा रहेका आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि घटनाप्रति दुःख प्रकट गर्दै प्रमुख सचिव तथा वरिष्ठ अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। राज्यका यातायात मन्त्री मण्डिपल्ली रामप्रसाद रेड्डी तथा पूर्व मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीले पनि शोक व्यक्त गर्दै पीडित परिवारलाई सहानुभूति तथा आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
