बबई सिँचाइ आयोजनाले अमन कन्स्ट्रक्सनसँगको ठेक्का तोड्ने

काठमाडौं । वर्षौदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारमाथि सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाले आर्थिक वर्ष २०७७/७८ मा नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतलगायतका कामका लागि सम्झौता गरेको थियो । तर सम्झौताअनुसारको प्रगति नगर्दा आयोजना ठप्प भएको हो । आयोजनाका अनुसार, सम्झौता गरिएका छ वटा ठेक्कामध्ये चारको प्रगति शून्य, एउटाको ३० र अर्कोको ५५ प्रतिशत मात्र पुगेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गर्न मातहत निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार आयोजना कार्यालयले पटक–पटक सूचना दिए पनि कम्पनीले काम सुरु नगरी बीचमै छोडेको र म्याद सकिएर पनि चासो नदेखाएको जनाएको छ ।
अब आयोजना कार्यालयले ठेक्का सम्झौता अन्त्य गरी कानुनी कारबाही अघि बढाउने तयारी थालेको छ । साथै, ठेक्का तोड्नु नपर्ने ठोस कारण भए प्रमाणसहित १५ दिनभित्र कम्पनीका प्रतिनिधिलाई उपस्थित हुन भनिएको छ ।
यदि कारण नियमसंगत वा भरपर्दाे नभए सम्झौता र सार्वजनिक खरिद ऐनअनुसार कार्यसम्पादन जमानत र धरौटी रकम जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।
सिँचाइ विभागका अनुसार राष्ट्रिय गौरवका भेरी–बबई, सुनकोशी–मरिण लगायतका २५ आयोजना रुग्ण अवस्थामा छन् । तीमध्ये छ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ ।