काठमाडौं माइतीघर क्षेत्रमा सुरक्षा कडा, १६ जना प्रदर्शनकारीहरु पक्राउ
काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्ने क्रममा डा. निकोलस भुसालसहित १६ जना पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि कुनै अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। प्रारम्भिक विवरण अनुसार पक्राउ पर्नेमा डा. भुसाल, सञ्जीव दाहालसहित जेन–जीका विभिन्न समूहका सदस्यहरू रहेका छन्।
प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रलाई अत्यधिक संवेदनशील मानेर बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।
भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन तथा ‘कोषसभा’ गर्ने तयारी गरेको बताइएको थियो। तर, प्रशासनको निर्देशनअनुसार प्रहरीले प्रदर्शन रोक्दै सहभागीहरूलाई नियन्त्रणमा लिएको हो।



