देशभरमा यी सडकहरु छन अवरुद्ध, पहिरो हटाउने काम निरन्तर

तु खबर संवाददाता
२०८२ आश्विन २३, बिहीबार ०९:४८

काठमाडौं। अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग र सडकखण्डहरूमा बाढी र पहिरोले आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरीले दिएको विवरण अनुसार आज बिहान ८ बजेसम्म देशभरका नौ स्थानका सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

अविरल वर्षा र पहिरोका कारण धेरै ठाउँमा सडक यातायात ठप्प बनेको छ। कोशी राजमार्ग अन्तर्गत संखुवासभाको वरुणखोला र एकुवामा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी, कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ भने मेची राजमार्ग र तमोर करिडोर पूर्णरूपमा बन्द छन्।

रसुवामा पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड बन्द भएको छ। काभ्रेको बीपी राजमार्ग पनि पहिरोले अवरुद्ध भएको छ। यस्तै, कान्ति लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको छ भने कर्णाली करिडोर पनि अवरुद्ध भएको प्रहरी प्रवक्ता कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएका क्षेत्रमा निरन्तर पहिरो हटाउने काम भइरहेको छ। तर अविरल वर्षा नरोकिएसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।