जाँचबुझ आयोगको स्पष्टीकरण – फौजदारी कसुरमा कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने

तु खबर संवाददाता
२०८२ आश्विन २१, मंगलवार १८:४७

काठमाडौं । भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका घटनाबारे गठित जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।’

आयोगको ध्यान ९ असोज, २०८२ मा गृह मन्त्रालयले जारी गरेको विज्ञप्तितर्फ गएको जनाएको छ। उक्त विज्ञप्तिमा मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ का घटनामा तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो।

तर, आयोगले भने आफ्नो विज्ञप्तिमार्फत स्पष्ट पारेको छ कि घटनासँग सम्बन्धित फौजदारी अपराधका अनुसन्धान वा कारबाहीका लागि कुनै पनि सरकारी संयन्त्रले प्रतिवेदन पर्खिनु नपर्नेछ।

गृह मन्त्रालयले भने अघिल्लो विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि मात्र छानबिन अघि बढाइने जनाएको थियो।
दुई निकायबीचको यो फरक व्याख्याले उक्त घटनाका सम्बन्धमा अनुसन्धान र कारबाही प्रक्रिया कस्तो हुने भन्ने विषयमा थप स्पष्टता आउन बाँकी रहेको देखिन्छ।