कोष विस्तारमा सहमति नहुँदा अमेरिकी सरकार शटडाउनमा

काठमाडौं ।अमेरिकी संघीय सरकार छ वर्षपछि पहिलोपटक बन्द भएको छ। मध्यरात बजेसँगै कोष विस्तारको समयसीमा सकिँदा कङ्ग्रेसले नयाँ बजेट उपाय पारित गर्न नसकेपछि सरकार आधिकारिक रूपमा शटडाउनमा प्रवेश गरेको हो।
रिपब्लिकन र डेमोक्र्याटबीच कोष विस्तारबारे सहमति नहुँदा यस्तो स्थिति आएको हो। रिपब्लिकनहरूले सात हप्ताको लागि हालको कोषलाई विस्तार गर्नुपर्ने अडान लिएका छन्। तर डेमोक्र्याटहरूले ओबामाकेयर सब्सिडी विस्तारमा प्रष्ट सहमति नभएसम्म समर्थन गर्न अस्वीकार गरेका छन्।
सीएनएन समाचारका अनुसार,सरकार बन्दसँगै ह्वाइट हाउसको आधिकारिक वेबसाइटमा शटडाउन घडी राखिएको छ, जसले प्रत्यक्ष रूपमा डेमोक्र्याटलाई दोष लगाएको छ। तर, डेमोक्र्याटिक नेताहरू हाकिम जेफ्री र सिनेट अल्पसंख्यक नेता चक शुमरले भने राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनकै कारण सरकारले ढोका बन्द गर्नुपरेको बताएका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, “अमेरिकी जनताको स्वास्थ्य सेवा सुरक्षित गर्न नचाहेकै कारण ट्रम्प प्रशासनले सरकार बन्द गरेको हो।”
हाउस स्पिकर माइक जोनसनले भने शटडाउनलाई अपरिहार्य भन्दै सिनेट डेमोक्र्याटलाई दोष दिएका छन्। उनले भने, “वार्ताका लागि केही छैन, अहिले प्रश्न केवल यो हो कि डेमोक्र्याटहरूले सरकारलाई कति समयसम्म बन्द राख्छन्।”
शटडाउनका कारण लाखौँ संघीय कर्मचारी प्रभावित भएका छन्। धेरैलाई अस्थायी रूपमा कामबाट हटाइनेछ भने आवश्यक सेवामा काम गर्नेहरूले तलबबिनै ड्यूटीमा उपस्थित रहनुपर्नेछ। अघिल्ला शटडाउनहरूमा अध्यागमन सुनुवाइ रद्द, घर खरिदका लागि ऋण प्रक्रियामा ढिलाइ, साना व्यवसायलाई असरजस्ता परिणाम देखिएका थिए।
सिनेट भोलि बिहान रिपब्लिकन प्रस्तावमा पुनः मतदान गर्ने तयारीमा छ। तर पर्याप्त डेमोक्र्याट समर्थन बिना सरकार पुनः खुल्ने सम्भावना कमजोर देखिएको छ। राजनीतिक रस्साकस्सीबीच अमेरिकाको संघीय सरकार अनिश्चितकालका लागि बन्द भएको छ।