ट्रम्पले बनाए प्रतिशोधी कदम तीव्र, पूर्व एफबीआई प्रमुख कोमीमाथि अभियोग

तु खबर संवाददाता
२०८२ आश्विन १०, शुक्रबार १०:३७

काठमाडौं । दोस्रो कार्यकालमा प्रवेश गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारका लोकतान्त्रिक गार्डरेलहरूलाई अझ प्रष्टसँग चुनौती दिँदै आफूले चाहेको ढंगले शक्ति केन्द्रित गर्न थालेका छन् ।

न्याय विभागले बिहीबार पूर्व एफबीआई निर्देशक जेम्स कोमीमाथि अभियोग दायर गरेको छ । यो कदम ट्रम्पले केही दिनअघि मात्र कोमीलाई अभियोग लगाउन आग्रह गरेपछि आएको हो । ट्रम्पले आफ्ना राजनीतिक शत्रुहरूलाई लक्षित गर्ने रणनीति अघि बढाउँदै विरोध गर्ने अभियोजकलाई समेत पदबाट हटाएका छन् ।

पूर्व ह्वाइट हाउस कानुनी सल्लाहकार टाई कोबले यसलाई “स्पष्ट प्रतिशोधात्मक” र “चयनात्मक अभियोजन” भन्दै अमेरिकामा कानूनको शासनलाई नै संकटमा पार्ने टिप्पणी गरेका छन् ।

सएनएन समाचारका अनुसार गत केही दिनयता ट्रम्पले राजनीतिक प्रतिशोधको अभियानलाई खुलेरै अघि बढाएका छन् । न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिया जेम्सविरुद्ध कारबाही अस्वीकार गर्ने अमेरिकी अधिवक्तालाई हटाई नयाँ वफादार नियुक्त गर्नु, डेमोक्र्याटिक दाता जर्ज सोरोस र उनका छोरालाई लक्षित अनुसन्धान अघि बढाउन दबाब दिनु, र कोमीलाई अभियोगमा ल्याउनु यसै क्रममा पर्छन् ।

पहिलो कार्यकालमा ट्रम्पका आवेगलाई रोक्ने अधिकारीहरू सक्रिय देखिए पनि दोस्रो कार्यकालमा त्यस्ता अवरोध क्रमशः हटिरहेका छन् । अब न्याय विभागले समेत राष्ट्रपति स्वयंकै प्रतिशोधी एजेन्डालाई संस्थागत रूपमा पछ्याइरहेको देखिन्छ ।

विश्लेषकहरूका अनुसार, ट्रम्पले हाल देखाएको आक्रामक शैलीले अमेरिकी लोकतन्त्रमा कानूनको शासन र कार्यपालिका शक्तिको सन्तुलनबारे गम्भीर प्रश्न खडा गरेको छ ।